Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन

कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन

भैरहवा : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कार्य सम्पादन, विकास निर्माण र श्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन्। मन्त्रालयद्वारा बिहीबार भैरहवामा आयोजित बेरुजू फर्स्यौट सम्बन्धी कार्यशालालाई सम्बोधनका क्रममा उनले कार्यसम्पादनका क्रममा सके सम्म बेरुजू नै आउन नदिन र आएको भए फर्स्यौटतर्फ समेत ध्यान दिन निर्देशन दिए ।

नागरिकले हरेक सेवामा सुशासन र पारदर्शिता अपेक्षा गर्ने र सरकारले समेत आर्थिक अनुशासनलाई प्राथमिकता दिएकाले आफ्ना हरेक कामको उत्तरदायित्व निर्वाह गर्न समेत आग्रह गरे। कतिपय आयोजनाहरू समयमा पूरा नहुने, अलपत्र हुने तथा रुग्ण भएर बस्ने जस्ता समस्या देखिएको भन्दै त्यसतर्फ पनि हरेक कार्यालय र कर्मचारीले ध्यान दिनु पर्ने बताए ।

नेपाल अहिले निर्माणको चरणमा रहेको भन्दै मन्त्री दाहालले सुरु गरिएका आयोजनाहरू तोकिएकै समयमा पूरा हुने गरी कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीहरूलाई सुझाव दिए । कर्मचारीहरूको कार्यसम्पादनबाट नै नागरिकले सरकारको महसुस गर्ने भएकाले सरकारको आभास दिलाउने गरी काम गर्न उनको आग्रह छ । नेपालमा केही भएन, हुँदैन र हुन सकेन भन्ने जस्ता गलत भाष्यहरू निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तनहरू नागरिक सम्म पुर्‍याउन जरुरी रहेको बताए ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखराको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजना अलपत्र पार्ने, समयमा पूरा नगर्ने जस्ता कार्य अब हुन नदिने दाबी गरे। सडक आयोजनाहरू निर्माण गर्दा सर्वसाधारणलाई सके सम्म कम समस्या पर्ने र यातायात अवरुद्ध हुन नदिने गरी गर्न समेत कर्मचारी तथा प्राविधिकहरूलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij