रत्ननगर : पूर्वी चितवनको कालिका नगरपालिकामा बुधबारदेखि लोकसेवा तयारी कक्षा सुरु भएको छ। लोकसेवा सारथी प्रा.लि., खैरहनीको सहजीकरणमा कालिका नगरपालिकाले आयोजना गरेको उक्त कक्षाको कार्यवाहक मेयर विमला तामाङले उद्घाटन गरेकी छन्। ७० दिने तयारी कक्षामा नगरभित्रका ३० जना सहभागी छन्।
सो अवसरमा कार्यक्रमकी प्रमुख अतिथि कार्यवाहक मेयर तामाङले नगरभित्रका युवाहरूलाई सरकारी सेवामा रोजगारीको अवसर सिर्जना गर्न तयारी कक्षा सुरु गरिएको बताइन्। निःशुल्क गर्दा बीचमै पढाइ छोड्ने विगतको प्रवृत्तिलाई अन्त्य गर्न सहभागीहरूबाट २० प्रतिशत रकम लिएर तयारी कक्षा सञ्चालन गरिएको उनको भनाइ छ।
प्रमुख प्रशासकीय अधिकृत देबराज चौलागाईंले नगरभित्रको शैक्षिक बेरोजगारी समस्या अन्त्य गर्न लोकसेवा तयारी कक्षा सुरु गरिएको बताए। “लोकसेवामा भनसुन चल्दैन,” उनले भने, “आफ्नो क्षमताले सरकारी सेवामा अवसर प्राप्त हुन्छ।”
लोकसेवा सारथी प्रा.लि.का सञ्चालक महेश घिमिरेले लोकसेवा तयारी कक्षाले शैक्षिक बेरोजगारी अन्त्य गर्ने बताउँदै बागमती प्रदेशमा माग गरिएको पाँचौँ तहको पदलाई केन्द्रित गरी तयारी कक्षा सञ्चालन गरिने जानकारी दिए।
सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष लक्ष्मण पौडेलले मन्तव्य राखेका थिए। महिला विकास अधिकृत सम्झना ढकालले सञ्चालन गरेको उक्त कार्यक्रममा लेखा अधिकृत ऋषिप्रसाद कडुवालले स्वागत मन्तव्य राखेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij