काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सवस्टेशन अन्तर्गतको ११ केभी फिडर लाइनहरूमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा आइतबार दिउँसो अचानक आगलागी भएको थियो । उक्त घटनाका कारण केही समयका लागि तीनवटा फिडरमार्फत वितरण हुने क्षेत्रको आपूर्ति प्रभावित भए पनि अधिकांश क्षेत्रमा हिजैदेखि आपूर्ति पुनःस्थापित भइसकेको प्राधिकरणले जानकारी दिएको छ।
भूमिगत लाइन परीक्षणको क्रममा आगलागी भएको हुँदा यसको सम्पूर्ण जिम्मेवारी निर्माण ठेकेदारले लिनुपर्ने कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले स्पष्ट पारे ।उनका अनुसार ब्रेकर प्यानलको स्विच सञ्चालन गर्ने क्रममा ‘स्पार्क’ भई आगलागी भएको हो । ‘जलेका उपकरण ठेकेदारले प्रतिस्थापन गर्नेछ,’ उनले बताए।
बुढानीलकण्ठ र चपली सवस्टेशनबाट आवश्यक स्वीच गियर ल्याएर प्रतिस्थापन प्रक्रिया अगाडि बढाइएको शाक्यले जानकारी दिए । उनका अनुसार तत्कालका लागि स्युचाटार सबस्टेशनबाट आपूर्ति रिरोटिङ गरी अधिकांश क्षेत्रको विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ।
‘केही गलत सूचना बाहिरिएको छ, अधिकांश क्षेत्रमा हिजै आपूर्ति बहाल भइसकेको हो । केवल चन्द्रागिरि आसपासको केही क्षेत्र मात्र बाँकी छ, जुन आजभित्रै व्यवस्थापन गरिनेछ,कार्यकारी निर्देशक शाक्यले बताए।उनले प्राविधिक त्रुटिको यथार्थ पत्ता लगाई आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij