काठमाडौँ : पत्रकार तथा लेखक रोहित भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण भएको छ ।
प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रमकाबिच प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, लेखक रोहित भण्डारी लगायतले पुस्तक लोकार्पण गरेका हुन् ।
कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले प्रेरणादायी पुस्तक लेखकका रूपमा पहिचान बनाएका भण्डारीको ‘दिए पुग्छ’ पुस्तकले परोपकारी समाज निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताइन् । उनले भनिन्,‘नेपाललाई चिनाउने भनेकै कथाले हो । यस्ता सकारात्मक र वास्तविक जीवनका कथाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्छ ।’
उनले विदेशीले नेपाल आउँदा यहाँको प्रकृतिसँगै मानिसहरू पनि राम्रो र मन सफा रहेको बताउने गरेको उल्लेख गरिन् ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले यस्ता खालका पुस्तकले नेपालमा परिवर्तन ल्याउन सहयोग पुग्ने बताए । पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार बलराम दाहालले पत्रकार रोहित भण्डारीको लेखन शैलीबाट आफू प्रभावित भएको बताए ।
पुस्तकका लेखक रोहित भण्डारी पुस्तक लोकार्पणमा आमाको आशीर्वाद नपाउँदा भावुक बने । ‘मैले यो पुस्तकका पात्रहरूको कथा आमालाई सबै सुनाएको थिए तर जब मैले यो पुस्तक लेखेर सके आमा मेरो साथमा हुनुहुन्न, तपाईंहरुले पुस्तक पढ्दै गर्दा मेरी आमालाई पनि अन्तरआत्माले सम्झिदिनुहोला ।’ विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भण्डारीले आफ्नो प्रेरणाको स्रोत बुवा रहेको बताए । उनले यसअघि ‘सम्भव छ’ ९२०७१० र ‘नेपालमै सकिन्छ’ ९२०७३० गरी दुई पुस्तकहरू प्रकाशित गरिसकेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij