मकवानपुर : मकवानपुरको बकैया गाउँपालिकाका ६२ जना भूमिहीन दलित तथा भूमीहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुर र बकैया गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरेको एक समारोहका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री वलराम अधिकारीको प्रमुख आतिथ्यतामा वडा नम्बर ४ र ७ का ६२ जना भूमिहीनलाई लालपुर्जा वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउनु सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । भूमीहीन दलित, सुकुम्बासी र अव्यवस्थीत बसोबासीलाई व्यवस्थापन गर्ने गरि कार्य भैरहेको दाबी गर्दै मन्त्री अधिकारीले भूमी सम्बन्धी समाधानका लागि गठित यो आयोग नै अन्तिम आयोग हुने गरि कार्य गर्ने जिकिर गर्नुभयो ।
मन्त्री अधिकारीले अझै २८ वटा स्थानीय तहले भूमीहीनहरुको तथ्यांक नबुझाएको बताउँदै तथ्यांकमा छुटेकाहरुलाई समेट्ने गरि अन्तिम पटक सूचना निकाल्ने तयारी भैरहेको समेत बताउनुभयो ।मकवानपुर जिल्लामा अझै ३५ हजार भन्दा बढी भूमिहीन रहेको आयोगको तथ्यांक छ । उनीहरुलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया झन्झटीलो रहेको भूमी समस्या समाधान आयोगको बुझाई छ ।
यसलाई सहज बनाउन आयोगले मन्त्रालयको ध्यानाकर्षण गराएको भूमी समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलले बताउनुभयो ।वर्षौँदेखि कागजी प्रमाणको अभावमा अन्योलमा रहेका बकैया ४ र ७ का बासिन्दा सरकारकै छाप भएको कागज सरकारकै हातबाट आफ्नै हातमा लिन पाउँदा खुशी छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij