काठमाडौँ : विभिन्न जिल्लामा भएका आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । रसुवा, दोलखा लगायतका जिल्लामा भएको आगलागीबाट धनमाल जलेर नष्ट भएको हो । रसुवाको नौकुण्ड गाउँपालिका–३ दुर्सा गाउँ बस्ने छेसाङ लामा घलेको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर पूर्ण रूपमा जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै दोलखाको कालिन्चोक गाउँपालिका–४ हिलेपानी गुमु बस्ने दुर्गा कार्कीको भान्सा कोठामा विद्युत् सर्ट भई शनिबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नितु कार्कीको भान्सा कोठामा समेत आगलागी हुँदा दुवै जनाको गरी करिब १ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उता महोत्तरीको मटिहानी नगरपालिका–८ बस्ने दिलिपशंकर साहको घरमा सोही ठाउँ बस्ने राजकुमार साहले सञ्चालन गरेको कपडा पसलमा विद्युत् सर्ट भई शनिबार राति आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij