Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

मंसिर वा फागुनमा पुग्न सक्छ रास्वपाको महाधिवेशन

मंसिर वा फागुनमा पुग्न सक्छ रास्वपाको महाधिवेशन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २०८२ वैशाखमा तोकिएको पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित समयमा नहुने लगभग निश्चित भएको छ । बुधबार र बिहीबार बसेको रास्वपा सचिवालयको बैठकमा निर्धारित मितिमा महाधिवेशन नभएको खण्डमा मंसिरदेखि फागुनसम्म गर्न सकिनेमा नेताहरूबिच छलफल भएको स्रोतको भनाइ छ ।

यद्यपि यसको औपचारिक निर्णय आगामी वैशाख ४ गते बस्ने रास्वपा केन्द्रीय समिति बैठकले गर्ने नेताहरूको भनाइ छ । ‘अहिलेकै अवस्थामा वैशाख २५ देखि निर्धारित महाधिवेशन उक्त समयमा नहुने लगभग निश्चित छ’, एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘वैशाखपछि बर्षातको समय सुरु हुने र त्यसलगत्तै चाडबाडको समय आउने भएकाले मंसिर वा फागुनतिर पुग्न सक्छ भन्ने कोणबाट छलफल भएको छ ।’

पार्टी सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा हतारिएर महाधिवेशन गर्न उचित नहुनेमा सचिवालय सदस्यहरूबिच कुनै विवाद नरहेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । यद्यपि महाधिवेशनका लागि गर्नुपर्ने तयारी भने भइरहेको बुर्लाकोटीको भनाइ छ ।

‘आगामी वैशाख २५ देखि २७ सम्म महाधिवेशनको मिति तोकिएकाले पार्टीका तर्फबाट गर्नुपर्ने तयारीहरू त भइरहेका छन्’, बुर्लाकोटीले भने, ‘तर फेरिएको अवस्थामा थप छलफल र निर्णय गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीमार्फत निर्णय हुन्छ ।’

सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतको आदेशलाई उच्च अदालत तुलसीपुरले उल्ट्याएपछि सभापति लामिछाने गत शुक्रबार पक्राउ परेका थिए । लामिछाने हाल पुर्पक्षका लागि रुपन्देहीमा थुनामै छन् । उनी कति समय थुनामा रहने हुन् भन्ने अनिश्चित छ ।

गत असोजमा सम्पन्न रास्वपा राष्ट्रिय परिषद् भेलाले २०८२ साल वैशाख २५ देखि २७ सम्म चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको थियो । विधानतः पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था अनुसार महाधिवेशनको तयारी पुरा भएपनि सभापतिको अनुपस्थिति र समयको समेत सुविधा रहेकाले वैशाखमै गर्नुपर्ने बाध्यता नरहेको बुर्लाकोटीको भनाइ छ ।

यसअघि रवि लामिछानेसहित बसेको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले तोकिएकै मितिमा महाधिवेशन गर्ने कि नगर्ने भनेर नेताहरूसँग लिखित धारणा मागेका थिए ।रास्वपाले महाधिवेशनको तयारीस्वरुप ७० वटा जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ ।

रास्वपाका प्रमुख सचेतक समेत रहेका नेता सन्तोष परियारले यसअघिको बैठकमा तोकिएकै समयमा महाधिवेशन गर्नुपर्छ भन्ने सभापतिको समेत मत रहेको भन्दै फेरिएको परिस्थितमा के गर्ने ? कति समयपछि सार्नेलगायतका विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने बताए ।

२०७९ असार ७ गते रास्वपा गठन भएको थियो । त्यसयता महाधिवेशन भएको छैन । यस हिसाबले अझै यो पार्टीलाई महाधिवेशन गर्न २७ महिना सयको सुविधा देखिन्छ । तर पार्टीलाई लामो समय तदर्थवादमा राख्न नहुने बुझाई समेत रहेकाले चाँडै महाधिवेशन गरेर निर्वाचित नेतृत्व चयन गर्नुपर्ने बाध्यता एकातिर छ । तर पार्टी गठन भएदेखि नै सभापति लामिछाने विभिन्न घटनामा मुछिएपछि पार्टीको नियमित काम अवरुद्ध हुँदै आएको छ । सभापति लामिछाने नागरिकता,पासपोर्ट हुँदै सहकारी प्रकरणमा मुछिँदै आएका छन्

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij