Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

संस्कृति बचाउन भुलाँखेलमा खुल्ला धिमे बाजा प्रतियोगिता, श्री राज गणेश धिमे खल: प्रथम

संस्कृति बचाउन भुलाँखेलमा खुल्ला धिमे बाजा प्रतियोगिता, श्री राज गणेश धिमे खल: प्रथम

भक्तपुर : नेवारी संस्कृतिलाई जीवन्त राख्न र नयाँ पुस्तामा बाजा संस्कृति हस्तान्तरण गर्न मध्यपुर थिमिको भुलाँखेलमा सम्पन्न खुल्ला धिमे बाजा प्रतियोगितामा श्री राज गणेश धिमे खल: प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र नित्य नाथ धिमे खलः को संयोजनमा सम्पन्न भएको प्रतियोगितामा मध्यपुर थिमि–४ को श्री राज गणेश प्रथम भएको हो ।श्री राज गणेशले शिल्ड, प्रमाणपत्रका साथै नगद ५० हजार पुरस्कार हात पार्न सफल भएको हो ।

प्रतियोगितामा सूर्य विनायक नगरपालिका वडा नं.–२ सिरु टारको श्री नास: धिमे खल दोस्रो हुन सफल भयो । श्री नास: धिमे खलः ले नगद २५ हजारका साथै शिल्ड, प्रमाण पत्र हात पारेको छ ।यसै गरी मध्यपुर थिमिकै सिवा सायमी खल: तेस्रो र काभ्रेपलान्चोक पनौतीस्थित नेवा: देय दबूले सान्त्वना पुरस्कार प्राप्त गरे ।

सिवा सायमी खलः ले नगद १५ हजार, शिल्ड, प्रमाण प्राप्त गरे भने नेवा: देय दबूले नगद १० हजार प्राप्त गरे । प्रतियोगितामा विजयी खलः लाई पुरस्कृत गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले स्थानीय कला संस्कृति, बाजागाजाको संरक्षणमा विशेष जोड दिइरहेको बताउनुभयो ।

बाजाहरूमा युवा पुस्ताको आकर्षण बढाउन बर्सेनि प्रतियोगिताहरू गर्दै जाने र यस्ता प्रतियोगितामा नगरका सबै वडाहरूमा आलोपालो गर्ने योजना रहेको जिकिर गर्नुभयो । आगामी वैशाख १३ गते वडा नं. १ लोहकिल्थलीमा बाँसुरी बाजा प्रतियोगिता हुन लागेको जानकारी गराउनुभयो ।

नगरपालिकाले पछिल्ला वर्ष संस्कृति संरक्षण, वातावरण सरसफाइ र पर्यटनको क्षेत्रमा उल्लेख्य कार्य गरेको छ । नगरपालिकाले नगरभित्रका सार्वजनिक जग्गा संरक्षण गरी बहु उपयोगी बनाउने योजना अनरुप कार्य अगाडि बढाएको जानकारी दिनुभयो ।

नगरवासीलाई निःशुल्क शिक्षा, स्वास्थ्य उपलब्ध गराउने प्रमुख प्राथमिकता रहेको बताउँदै पूर्वाधार विकासमा पनि नगरपालिकाले विशेष योजनाका साथ कार्य गरिरहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij