Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

ज्ञानेन्द्र शाहको ह्याट्रिक गर्ने रहर

ज्ञानेन्द्र शाहको ह्याट्रिक गर्ने रहर

पछिल्लो केही समययता सर्वाधिक चर्चामा रहेका पात्र हुन् पूर्वराजा ज्ञानेन्द्र शाह । ज्ञानेन्द्र शाह त्यही व्यक्ति हुन् जो इतिहासमा आफ्नो बुवाभन्दा अगाडि राजा बन्न पुगे । संयोगले उनी शाह वंश परम्पराको मान्यताविपरीत राजा बनेका पात्र हुन् । हजुरबुवा त्रिभुवनले राणाहरूसँगको संघर्षमा नेपाल छाडेर जेठा छोरा महेन्द्रसहित भारत पसेपछि महेन्द्रका माइला छोरा ज्ञानेन्द्रले दुई महिना राजा हुने अवसर पाएका थिए ।उनी २००७ सालको कात्तिक २२ गते पुस २३ सम्म राजा बने । जुन राजाको जेठो छोरा राजा हुने शाह परम्पराभन्दा विपरीत थियो । पछि राजा वीरेन्द्रको वंशनाश भएपछि उनी दोस्रोपटक (२०५८ जेठ २२ मा) दोस्रोपटक राजा भए । यसरी राजा त्रिभुवनको नाति भएर, राजा महेन्द्रको माइलो छोरा भएर र राजा वीरेन्द्रको छोरा नभईकन भाइ भएर पनि राजा बन्न पुगेका ज्ञानेन्द्र शाह विगत १७ वर्षदेखि पूर्वराजाको हैसियतमा एक नागरिकसरह जीवनयापन गरिरहेका छन्

उसो त ज्ञानेन्द्र शाहले आफ्नो स्वेच्छाले राजपाठ छाडेका भने होइनन् । आफ्नो राज्य सञ्चालन गर्ने ढङ्ग नपुग्दा र राजनीतिक असक्षताका कारण उनलाई राजगद्दी त्याग्न बाध्य पारिएको थियो । जनयुद्ध लडिरहेको तत्कालीन नेकपा (माओवादी) र संसद्वादी पार्टीका बिचमा खेलेर आफ्नो निरङ्कुशता र शासनसत्तामा नियन्त्रण गरिराख्ने उनको रणनीति जब असफल हुन पुग्यो, तब राजतन्त्र बिस्तारै धर्मराउन थाल्यो । राजतन्त्र र संसद्वादका विरुद्धमा भीषण लडाइँमा होमिएको माओवादी र राजतन्त्रलाई अविभावक मानी संसदीय राजनीतिमा सक्रिय रहेका काङ्ग्रेस लगायत सात राजनीतिक पार्टीका बिचमा निरङ्कुश राजतन्त्रका विरुद्ध संघर्ष केन्द्रित गर्ने सहमति बनेपछि राजतन्त्रका आधार भत्किन थालेको थियो । २०६२/६३ को दोस्रो संयुक्त जनआन्दोलनपछि विस्तृत शान्ति सम्झौता हुँदै पहिलो संविधानसभा (२०६४) को पहिलो बैठक (२०६५ जेठ १५)ले गणतन्त्रको घोषणा गर्‍यो । २४० वर्षदेखि कहिले सक्रिय र कहिले निस्क्रिय रूपमा चल्दै आएको राजतन्त्र कानुनी रूपमा सदाका लागि अन्त्य हुन पुग्यो ।

राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा भएसँगै राजा ज्ञानेन्द्र पनि आफ्नो पोको–पुन्तुरो बोकेर नारायणहिटीबाट बाहिरिएका हुन् । २०६५ सालसम्म बडामहाराजधिराज भएका ज्ञानेन्द्र अहिले पूर्वविशिष्टका हैसियतले सरकारी सुरक्षासहित राम्रो व्यवसाय, घरबार र तीर्थयात्रा गरिरहेका छनओली, प्रचण्ड, देउवा वा अरु कुनै नेतालाई पराजित गरेर तह लगाउने अधिकार अहिलेको जनतामा छ । गणतन्त्रका थुप्रै सीमाहरू हुन सक्छन् । तर वंशमा आधारित शासनभन्दा जनतामा आधारित शासन हजार गुणा बलशाली, शोभनीय र उपयुक्त हुन्छ ।ज्ञानेन्द्रले राजदरबार छाडेको पनि १७ वर्ष बितिसकेको छ । तत्कालीन राजाको मुख्यालय नाराणहिटी राजदरबार राष्ट्रिय संग्रहालयमा परिणत भइसकेको छ । राजाका वरिपरीका भाइभारदारहरू र आसेपासेहरू विभिन्न स्वार्थसमूहमा विभक्त भइसकेका छन् । यो सत्र वर्षको अवधिमा देशमा लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, धर्म निरपेक्षता र संघीयता जस्ता नवीन अभ्यास भएका छन् र जनता सार्वभौमसत्ता सम्पन्न भएका छन् । सिंहदरबारदेखि वडासम्म जननिर्वाचित जनप्रतिनिधि छन् । थुप्रै सकारात्मक र नकारात्मक अनुभवसहित नेपाल आजको अवस्थामा आइपुगेको छ ।

ज्ञानेन्द्रको राजा हुने धोको अझै पूरा नभएको रहेछ । नेपाल सरकारले सम्मानै गरेर उपलब्ध गराएको सुरक्षा र नागार्जुन दरबार वा निर्मल निवासमा बसेर भजन–कीर्तन गरेर अनि देश–विदेशको समाचार हेरेर मात्र कति बसिराख्ने भन्ने लाग्दो हो, कहिलकाहीँ र गाडी निकालेर विभिन्न दर्शन भेट र सम्मानका नाममा यात्रामा निस्किरहने गरिरहेका छन् । नारायणहिटी हुँदै आवतजावत गर्दा विगतले घचघचाउँदो पनि होला र स्मरणहरूले निदहराम पनि गर्दाे हो । त्यसैले सायद देश–विदेशको तीर्थयात्रा प्राथमिकतामा परेको पनि हुन सक्छ । जनताको छोरा सरकार प्रमुख भएको देख्दा, किसानको छोराछोरी राष्ट्रप्रमुख भएको देख्दा मन पनि पोल्दो हो र समय–समयमा राजाकै भानदिने गरी विज्ञप्ति पनि जारी गर्ने गरेका छन् ।

राजाकै हैसियतमा उनले विभिन्न चाडपर्व तथा विशेष समय सन्दर्भमा शुभकामना दिने र देशको चिन्ता प्रकट गर्ने कार्य विज्ञप्तिमार्फत गर्दै आएका छन् । यसपालिको प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा भने यिनले अलि महत्त्वाकाङ्क्षी विज्ञप्ति जारी गरे । देशमा अस्तव्यस्तता रहेको र संकट परेको भन्दै राष्ट्र बचाउन, समृद्धि र राष्ट्रिय एकता कायम गर्न अब आफूलाई सहयोग गर्न आह्वान गरे । विज्ञप्ति हेर्दा उनलाई कार्यकारीको भोक जागेको देखिन्छ । नत्रभने म आएपछि सब ठिक गर्छु भन्ने मनसायको विज्ञप्ति जारी गर्ने थिएनन् होला । यही विज्ञप्तिको जगमा केही राजसंस्थावादी संघ–संगठनले पूर्वराजा ज्ञानेन्द्र पोखरादेखि काठमाडौँ फर्कने क्रममा यही फागुन २५ गते काठमाडौँमा स्वागत गर्ने भनेर केही हजार मान्छे जम्मा पारे । केही मान्छेहरू स्वतस्फूर्त पनि गए होलान् । यो भिड देखेपछि राजतन्त्रवादी झनै हौसिए र ज्ञानेन्द्र आफैँ पनि अब उपयुक्त समय आएको निष्कर्षमा पुगे । विभिन्न वादविवादका बिच राजसंस्था पुनस्र्थापनाका लागि राजाकै प्रत्यक्ष निगरानी र पहलकदमीमा पूर्वराष्ट्रिय पञ्चायत अध्यक्ष वयोवृद्ध ज्येष्ठ नागरिक नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको गठन भयो ।

राप्रपा र उसका केही नेताहरू, केही अन्य पूर्वपञ्चहरू, दुर्गा प्रसाईं जस्ता विवादित व्यक्तिहरू लिएर गठन गरिएको समिति जन्मनेबित्तिकै विवादित बन्न पुगेको र एक पञ्चले अर्काे पञ्चलाई नस्विकार्ने अनि समितिमा नबस्ने घोषणा गर्ने प्रक्रिया पनि चलिरहेको छ । अझभन्दा कसले धेरै पूर्वमहाराजको चाकडी गर्ने र जस लिने प्रतिस्पर्धा चलिरहेको छ ।गणतन्त्र घोषणा भएको दिनदेखि नै राजतन्त्रको वकालत गर्ने एउटा सानो शक्ति संविधानसभा हँुदै अहिलेको प्रतिनिधिसभामा पनि छँदै छ र अझै रहला पनि । तर सडक संघर्षमार्फत या सैन्य विद्रोहमार्फत या वैदेशिक हस्तक्षेप निम्त्याएरै भए पनि राजतन्त्रको पुनस्र्थापना गर्नुपर्छ भन्ने मानसिकता भने खतरनाक देखिन्छ ।

यही चैत्र १५ गते गणतन्त्रको पक्षधर तर सरकारको विपक्षी पार्टीहरूको समाजवादी मोर्चाले सरकारको विरुद्धमा, सुशासन र गणतन्त्रको सुदृढीकरणको पक्षमा खबरदारी सभाको आयोजना गर्‍यो । समाजवादी मोर्चाको सभालाई काउन्टर दिन भन्दै राजसंस्थावादीहरूले पनि सोही दिन काठमाडौँमै सभाको आयोजना गरे । समाजवादी मोर्चाको कार्यक्रम भृकुटी मण्डपमा आयोजना गरियो । सुरक्षा निकायकै रिपोर्ट अनुसार पनि ३५ हजारभन्दा बढी जनसमुदायको उपस्थिति रहेको प्रदर्शन सानदार रूपमा सम्पन्न भयो । मोर्चाका शीर्षस्थ नेताहरूले अहिलेको सरकार, व्यवस्था, समस्या, समस्याका समाधानहरू लगायत विषयमा आफ्ना धारणा र प्रतिबद्धताहरू सार्वजनिक गरे । उता त्यही समयमा, उही मितिमा राजावादीहरूको तीनकुनेको प्रदर्शन भने नेतृत्वका अराजक प्रवृत्ति, असंगठित र अनियन्त्रित मान्छेको भिड र गलत प्रशिक्षणका कारण लुटपाट र अराजकतामा रूपान्तरण भयो ।

यसरी चैत १५ गते गणतन्त्रवादीको राजनीति कस्तो हो र राजावादीहरूको मण्डले प्रवृत्ति कस्तो हुन्छ भन्ने कुरा यो सानो डेमोले सबैका सामु स्पष्ट पारिदिएको छ । राजनीतिक पार्टीहरूको कार्यालयमा आक्रमण गर्ने, नेताका घरमा आक्रमण गर्ने, व्यावसायिक केन्द्रहरूमा लुटपाट गर्ने, सुरक्षाकर्मीको हतियार खोस्ने र दरबारिया मण्डले आतङ्क सिर्जना गर्ने यो कुनै राजनीतिक आन्दोलन होइन; न यो युद्ध हो न त आन्दोलन, न कुनै शान्तिपूर्णसभा र प्रदर्शन नै हो । यो त अराजकवादीहरूको नौटङ्की मात्र हो भन्दा फरक नपर्ला । अहिलेका राजनीतिक पार्टीहरू र अभ्यासरत गणतन्त्रले जनआकाङ्क्षाको पूरा सम्बोधन गर्न नसकेको कुरा साँचो हो । परिणाममुखी कार्यक्रम दिन नसकेको पनि साँचो हो । यति हँुदाहँुदै पनि जनतालाई रैतीबाट सार्वभौम नागरिक बनाएको कुरा पनि साँचो । ओली, प्रचण्ड, देउवा वा अरु कुनै नेतालाई पराजित गरेर तह लगाउने अधिकार अहिलेको जनतामा छ । गणतन्त्रका थुप्रै सीमाहरू हुन सक्छन् । तर वंशमा आधारित शासनभन्दा जनतामा आधारित शासन हजार गुणा बलशाली, शोभनीय र उपयुक्त हुन्छ । यसमा समयक्रमानुसार सुधार गर्नुपर्ने धेरै कुराहरू छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई राजगद्दीमा ह्याट्रिक गर्ने रहर लाग्न सक्ला । त्यसका लागि देशी–विदेशी शक्तिहरूलाई गुहार्न पनि सक्ला । समर्थन र प्रदर्शनका केही ट्रायल गर्न पनि सक्ला । हजार मात्र होइन लाखको संख्यामा मानिसले उनलाई जयजयकार गर्दै फूलपाती पनि चढाउँला तर उनको ह्याट्रिक गर्ने सपना पूरा हुन सक्दैन । किनकि उनको विगत सुखद छैन, सन्ततिमा भरोसा छैन, उनी राजनीति कम र व्यापार बढी जान्ने मानिस हुन् ।

उनलाई घेरिएको घेरा अवसरवादीहरूको माखेसाङ्लोमा जेलिएको जालो हो । जसले राजतन्त्र भनेर भनिरहेका छन् तीनलाई राजा भन्दा पनि आफ्नो सुरक्षित राजनीति चाहिएको छ । आजको समाजले अंश र वंशका आधारमा चल्ने शासनभन्दा, स्वतन्त्रता, समानता र प्रतिस्पर्धामा आधारित गणतन्त्र नै स्वीकार गर्छ । यो कुरा ज्ञानेन्द्रको चेतन मनले स्विकारेको पनि हुन सक्छ तर फेरि उनको अवचेतन मनले यो देशको ठेक्का त मेरो पो हो, हिन्दु धर्म र संस्कृतिको त मबाहेक अरुले संरक्षण नै गर्न सक्दैन, जता गए पनि सयौँ मेरा मान्छेले स्वागत गरेका छन्, खर्बौंको चलअचल सम्पत्ति छ, पुराना पार्टी र नेताहरूप्रति जनताको असन्तुष्टि चुलिएको छ, त्यसैले अब आँट्नुपर्छ भन्ने सोचेको होला । अन्तर्मनको द्वन्द्वबाट चेतन मनलाई अवचेतन मनले दबाएर निर्णय गरिएको हो भने परिणाम अवश्य प्रत्युत्पादक बन्नेछ ।

फेरि पनि गणतन्त्रवादीलाई चुनावमा, लडाइँमा, आन्दोलनमा पराजित गरेर, करोडौँ जनताको मन जितेर सरकार प्रमुख वा राष्ट्रप्रमुख हुने अधिकार पूर्व र अन्तिम राजा ज्ञानेन्द्रलाई छ । जुन कुरा मेरो ८० वर्षे हजुरबुवा सरहका ज्ञानेन्द्रले गर्न सक्छन् भनेर कसले पत्याइदिने ? दुई–चार हजार मान्छे नियन्त्रण गर्न नसक्ने दुर्गा प्रसाईंलाई जनकमान्डर बनाउने, आफ्नो सल्लाह र योजनामा भएको घटनाको जिम्मा समेत लिन नसक्ने, आफैँ मैदानमा उत्रेर नेतृत्व गर्न नसक्ने, राजतन्त्र भन्दै पाँचतिर फर्केका पाँच टाउकालाई मिलाउन नसक्ने ज्ञानेन्द्रलाई नारायणहिटीको ढोका कसले खोल्दिने हो कुन्नि ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट