काठमाडौं : ओपनर डेभिड मलानको उत्कृष्ट अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्ससामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो ।
चितवनका लागि मलानले सर्वाधिक ७० रन बनाए । उनले ५१ बलको सामना गर्दै ५ छक्का र ५ चौका प्रहार गरे । मलानको यो अर्धशतक एनपीएल सिजन–३ को पहिलो अर्धशतक हो ।
मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए । देव १५ बलमा १२ रन बनाएर आउट भए । विराटनगरका चरिथ असलंकाले पहिलो विकेट लिएका थिए ।
त्यसपछि ब्याटिङमा आएका विकेटकिपर अर्जुन साउदले अपेक्षित प्रदर्शन गर्न सकेनन् । उनी ९ बलमा ३ रन बनाएर आउट भए । एन्जेलो म्याथ्युजको बलमा अर्जुनलाई विराटनगरका कप्तान सन्दीप लामिछानेले क्याच गरेका थिए ।
१३औँ ओभरको दोस्रो बलमा आन्द्रे रसेलले मलानलाई आउट गरेपछि चितवनको ब्याटिङ सम्हाल्ने जिम्मेवारी कप्तान रवि बोपारा र डान मोस्लीमा आएको थियो ।
यी दुईले उत्कृष्ट ब्याटिङ गर्दै तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे । बोपारा ३२ रन र मोस्ली २९ रनमा अविजित रहे ।
मलानको अर्धशतक तथा बोपारा र मोस्लीको अविजित साझेदारीसँगै चितवनले विराटनगरलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij