सर्लाही : बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि जिल्लाको चन्द्रनगर गाउँपालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको छ । यहाँ व्याप्त रहेको बालविवाह तथा छोरीलाई नपढाउने प्रचलन न्यूनीकरणका लागि पालिकाले प्रोत्साहन रकम दिन सुरु गरेको हो ।
आर्थिक वर्ष २०७९/८० देखि पालिकाले १२ कक्षा पास गरेर २० वर्ष पूरा गरी विवाह गर्ने छोरीलाई ५० हजार रुपैयाँ प्रोत्साहन रकम दिन सुरु गरेसँगै स्नातक अध्ययन गर्ने छोरीलाई क्याम्पस भर्ना गर्न ११ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।पालिकाले सुरु गरेको उक्त अभियानले समाजमा बालविवाह न्यूनीकरण तथा छोरीको पठनपाठनमा सकारात्मक प्रभाव पारेको स्थानीय शिक्षक रामएकवाल महतोले बताउनुभयो ।
मधेसका आर्थिक अवस्था कमजोर भएका, अल्पसङ्ख्यक, पिछडिएको समाजमा अझै पनि छोरीलाई धेरै पढाउन हुन्न भन्ने मानसिकता रहेकाले सोको न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
कक्षा ७-८ पढ्दापढ्दै विवाह गरेर पठाइदिने प्रचलनले समाजमा छोरीको शैक्षिकस्तर माथि उठ्न नसकेको शिक्षिका रमा सिंहले बताउनुभयो । बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि पालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको उहाँको भनाइ छ ।
अभियानपछि समाजमा छोरी पढाउनुपर्छ, बालविवाह गर्नुहुन्न भन्ने चेतनास्तर वृद्धि हुँदै गएको अध्यक्ष राजकुमार महतोले बताउनुभयो । “एउटी महिला शिक्षित हुनु भनेको पूरै परिवार शिक्षित हुनु हो । त्यसैले ‘छोरी पढाऊ, छोरी बचाऊ’ भन्ने नारालाई आत्मसात गर्दै कार्यकालको सुरुदेखि योजना लागू गरेका हौँ”, उहाँले भन्नुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij