Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

कमल कोइरालासँग सात दशकको अवधिमा पाँचवटा प्रत्यक्ष भेटको सम्झना

कमल कोइरालासँग सात दशकको अवधिमा पाँचवटा प्रत्यक्ष भेटको सम्झना

लोकतान्त्रिक तथा गणतान्त्रिक विकृतिका कारण ‘कम्युनिस्ट’ र ‘कमरेड’ शब्द बदनाम भएको आजको दुःखद, दुर्भाग्यपूर्ण अवधिमा पनि ती विशेषणलाई सार्थकता दिने स्वनामधन्य सज्जन व्यक्ति, इमानदार, निर्भीक, प्रतिबद्ध, सहृदयी, आफू मान नखोजी अरुलाई मान दिने विनम्रतायुक्त सद्पुरुष हुन् कमलप्रसाद कोइराला ।

कमलसँग मेरो पहिलो भेट २०११ सालको माघ ४ गते इन्द्रचोक डबलीनिर मकबुल शाहमार्फत भएको हो । यो त्यही ठाउँनिरको कुरा हो, जहाँबाट सहिदद्वय शुक्रराज शास्त्री एवं गङ्गालालले राणाकालीन समय (१९९५ साल) मा नागरिक अधिकारका लागि वीरोचित सम्बोधन गरेका थिए ।नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्धित भएकाले उसको राजनीतिलाई सार्वजनिक रूपमा ल्याउन पार्टी नेता पुष्पलालको अग्रसरतामा गठन भएको जनाधिकार सुरक्षा समितिले यसबिच अनेक जनसंघर्ष चलाइसकेको थियो ।

यस्तै आन्दोलनका क्रममा इन्द्रचोक डबलीमा प्रतिबन्धित आमसभा गर्ने तय भएकै बेला काठमाडौँ पार्टी जिल्ला समितिका सचिव निर्मल लामा र हामीले कमल कोइराला तथा मदन रेग्मीलाई संघर्षमा ल्याउने ठहर गरी उनीहरूलाई के बोल्ने भन्ने ‘लाइन’ दियौँ, जसको जस मलाई कमलले अनेकपटक सार्वजनिक रूपमा दिइरहे । उनको आफ्नै कर्मद्वारा कम्युनिस्ट हुने निर्दिष्ट भएको दिनको जस अरूलाई दिने यी यस्ता सद्पुरुष हुन् ।

‘नेपालखबर डटकम’मा २०८१ असोज २० मा प्रकाशित ‘कमल–मदन मित्रता कथा’ शीर्षकको आलेखमा सीताराम बरालले यस घटनाको पूरा विवरण प्रामाणिक रूपमा र बडो रोचक तवरले दिएका छन् । जसको स्थान विशेषलाई मैले आफ्नो प्रत्युत्तरमा सच्चाएको छु । कमललाई आज समुचित तवरमा श्रद्धासुमन अर्पण गर्दा त्यो घटनाबाट प्रजातन्त्रवादीका नाममा स्वेच्छाचारी हुन गइरहेको त्यस बेलाको भारत वशीभूत नेपाली राजकीय सत्तालाई कम्युनिस्टहरूको एउटा जब्बर राजनीतिक प्रहार भएको उल्लेख हुनैपर्छ ।

नेपालमा राजनीतिक शासकीय एवं फौजी मामलामा भारतीय राजको निरन्तर हस्तक्षेपको विरोधमा आयोजित कम्युनिस्ट सभामा नेपालका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका छोराहरू समातिएर थानामा थुनिनु भारतीय सत्तासँग कम्युनिस्टहरूको राजनीतिक प्रतिरोध पनि थियो यो । त्यतिबेला काठमाडौँमा हिन्दुस्तान समाचार तथा पीटीआईका संवाददाता भएकाले र द स्टेट्सम्यान दैनिकको पनि विशेष प्रतिनिधि भएकाले यो खबरले भारतभरि निकै प्रचार पायो । त्यस दैनिकका प्रतिनिधि सक्सेना मेरा छिमेकी भएकाले उनले आफ्नो अखबारमा छापेको त्यो खबर मलाई देखाएको सम्झना छ । वास्तवमा यो खबर विश्वभरि नै फैलिएको रहेछ ।

गौरवशाली अविभाजित कम्युनिस्ट आन्दोलन ‘सिद्धान्त’ र ‘विचारधारा’को नाममा टुक्रिएर भताभुङ्ग भयो । यस्तो विकराल परिस्थितिमा पनि ‘एकला चलो, एकला चलो’ वा ‘चरैवेति, चरैवेति’को मार्गमा अग्रसर हुने भएका बिरलाकोटी कम्युनिस्टहरूमा एक उज्याला, निष्ठावान परिव्राजक हुन् कमल कोइराला ।यो घटनालाई मातृका सरकारले कम्युनिस्ट अध्यक्ष भएको काठमाडौँ नगरपालिकालाई अनेक निहुँ पारेर भंग गरेको बदला स्वरूप भएको रूपमा पनि लिन सकिन्छ ।

कम्युनिस्ट राजनीति त बढ्दै गयो, कतिपटक कतिपटक, त्यो राजनीतिलाई चलाउने भन्नेहरू सत्तामा पनि आए तर नेपाली जनताको मङ्गल कल्याणमा तथा विदेशी शक्ति केन्द्रबाट नेपालको स्वाधीनता र सार्वभौमसत्तामाथिको आघात तथा हमलाविरुद्ध लक्षित पुष्पलालको ध्येय र अवधारणाले नेपाली माटोमा मलजल पाउने र फल फल्ने फुल्ने कहिले हो, त्यो इतिहासको अहिले पनि विकट प्रश्न छ । यसपछि वागमती एवं कोशीबाट धेरै पानी बगिसकेका थिए । गौरवशाली अविभाजित कम्युनिस्ट आन्दोलन ‘सिद्धान्त’ र ‘विचारधारा’को नाममा टुक्रिएर भताभुङ्ग भयो । यस्तो विकराल परिस्थितिमा पनि ‘एकला चलो, एकला चलो’ वा ‘चरैवेति, चरैवेति’को मार्गमा अग्रसर हुने भएका बिरलाकोटी कम्युनिस्टहरूमा एक उज्याला, निष्ठावान परिव्राजक हुन् कमलभाइ ।

दोस्रो भेट । त्यही घटनापूर्ण सालको एक दिन मैले मेरी आमालाई घरमा भात खान कमलभाइलाई बोलाउने कुरा उठाएँ । पुष्पलाल र अरु अनेक कमरेडहरूले भात खाएका हुन्, मकबुल र भूपीले खाजा खाएका हुन् ।

कमल आए । बुवा–आमालाई चिनाएँ । मेरी पत्नी उर्मिलासँग अघि नै नमस्कार आदान–प्रदान भइसकेको थियो । आमाले भान्सामा हामी दुवैलाई सँगै बसालेर कमललाई चाँदीको खण्डेथालमा, चाँदीको गिलासमा पानी भरेर आफैँ पस्केर ख्वाउनुभयो । कलिलो कमलले लाज मानीमानी खाएको र घुम्टो हालेकी उर्मिला यो देखेर मुसुमुसु हाँसेको सम्झिन्छु म । कमलले यो भेट र खानाबारे कसलाई बताए, मलाई थाहा छैन । तर आफ्नो ममतामयी आमालाई त उनले अवश्य बताए भन्ठान्छु ।

त्यसपछिको तेस्रो भेटमा त नेपालको राजनीतिक नदीनालामा कति पानी बगिसकेका थिए, कति ! कम्युनिस्ट दलीय राजनीति छाडेर स्वतन्त्र बस्दा पनि पुराना धेरै ‘कामरेडहरू मलाई ‘रायमाझीवादी’ भनेर तर्किएर हिँड्दा २०४६ तिर कमल कुनै काममा यतातिर आउँदा मकहाँ पसे । बडो खुसी भई कुराकानी (खानपान गर्‍यौँ । एकछिन कौशीमा उभिई कुरा गर्दा कमलले मेरो घरजग्गा देखेर त्यसको वाणिज्यीय मूल्य औँल्याएको सम्झिन्छु । आज त न कमलले भात खाएको बुवाको घर, न मेरो त्यो घर नै अस्तित्वमा छन्, दुवै धराशायी भए र म एवं उर्मिला त्यसै परिसरको एकान्त कुनामा श्वान्तसुखाय जीवन बताइरहेका छौँ ।

चोथौ भेट ! त्यसताकाको ‘सगरमाथा’ टीभी ख्यातिका जीवराम भण्डारीले डिल्लीबजार गुर्जुघरको ‘भान्साघर’मा कुनै सार्वजनिक विषयमा सामूहिक विचार विमर्श कार्यक्रममा कमलभाइसँगै एक–दुई घण्टासँगै थिएँ म । अस्वस्थ थिएँ, भण्डारीको निम्ता हार्न नसकेर गएको थिएँ । कमलभाइ पनि अलि खोच्याउँदै आएको देख्दा नरमाइलो लाग्यो । आखिर हामी बुढा भइसकेका थियौँ ।

पाचौँ र अन्तिम भेट गोविन्दप्रसाद लोहनीसम्बन्धी पुुस्तक लोकार्पणका दिन । गोविन्दजीका कान्छा छोरा कपिल लोहनीको हार्दिक निम्तामा प्रज्ञा प्रतिष्ठान डबलीमा भएको थियो । सभा मञ्चमा कृष्णप्रसाद भण्डारी, भैरव रिसाल तथा पुष्कर लोहनीसहित हामी दुई–दुई घण्टा जति सँगै थियौँ । सबले गोविन्द प्र. लोहनीलाई सम्झँदै भाषण गर्‍यौँ । कमलभाइ र म नेट सम्पर्कमा रहन छुटेनौँ । हामी आ–आफ्ना पोस्टहरूमा ‘लाइक’ साथै केही टिप्पणी पनि गर्दथ्यौँ, बढीचाहिँ म नै गर्दथेँ । कमलभाइमा जोसिला, रसिला, चोटिला तथा सकारात्मक तवरले पारिवारिक राजनीतिक चित्रहरूमा समुचित टिप्पणी गर्दा मप्रति प्रशन्न रहन्थे । मदन रेग्मीको आश्चर्यजनक प्रशन्नता त सीतारामको उपरोक्त कथामा व्यक्त नै छ ।

एक दिन एक्कासि भाइ तीर्थ कोइरालाको पोस्टबाट खङ्ग्रङ्गै भएँ, कमल लडेर पक्षघात भएको खबरबाट । मन भरङ्गै भयो । दुई दिनपछि ऋचा छोरीसँग मेसेन्जर सम्पर्कमा आफ्नो पीडा जनाएँ । भोलिपल्ट उनको आशाजनक सन्देशबाट मन रमायो तर त्यो क्षणिक साबित भयो । भाइ एकराज पाण्डेको पोस्टको खबरबाट मर्माहत नै भएँ । यस अपार शोकपूर्ण खबर उर्मिलालाई सुनाउँदै उनी पनि साह्रै व्यथित भइन् । दिनभर बेसुरजस्तै भएँ, परिणाम स्वरूप नेपालको इतिहासको एउटा सङ्क्रमण कालखण्डको पुस्तकमा आफ्नो विचार पोखेको लेख नै ट्याबलेटबाट हराउन पुगेँ । कमलभाइप्रति आफ्ना श्रद्धासुमन र त्यस पुस्तकमा टिप्पणी आफ्नो अनिवार्य दायित्व थियो । बल्लबल्ल तीन लगाएर सो दायित्व निर्वाह गर्न त सकेँ तर शारीरिक बल सामथ्र्यले अब विशेष केही भ्याइएला जस्तो लाग्दैन । यता देशीय एवं क्षेत्रीय तथा विश्व परिस्थिति झनै बिग्रँदो छन् । हाम्राका दशाहीन त छँदै छन्, अरू अराजक हुँदै छन् ।

छोरी ऋचालाई छोटो शोक सन्देश पठाएँ, जसको फोटोचित्र प्रस्तुत गरेको छु । यस्तो शोक सन्तप्त वातावरणमा म कमलका आजीवन प्यारो साथीभाइ मदन रेग्मीलाई यस गहन पीडा एवं शोक सहन गर्न सक्ने धैर्य एवं शक्तिको कामना नगरिरहन सक्दिनँ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट