Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

जनक कलेज गैंडाकोटमा स्ववियू निर्वाचन टार्न मनपरी, क्याम्पस प्रमुख बिदामा

जनक कलेज गैंडाकोटमा स्ववियू निर्वाचन टार्न मनपरी, क्याम्पस प्रमुख बिदामा

नवलपुर : नवलपुरको गैंडाकोट नगरपालिका–५ स्थित जनक कलेजले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन टार्न नियोजित रूपमा कलेज बन्द गरेको विद्यार्थी संगठनहरूले आरोप लगाएका छन्। कलेज खुलेपछि पनि प्रमुख अनुपस्थित रहँदै कसैलाई कार्यवाहक जिम्मेवारीसमेत नदिइएको भन्दै विद्यार्थीहरू आक्रोशित भएका छन्। चैत्र ५ गते देशभर स्ववियू निर्वाचनको मिति तोकिएको थियो।

अधिकांश कलेजमा सोही मितिमा निर्वाचन सम्पन्न भइसकेको छ भने कतिपयमा पछि मिति तय गरी निर्वाचन गराइएको छ। तर, नवलपुरका १० कलेजमा माग भए पनि निर्वाचन हुन सकेको थिएन। विद्यार्थी संगठनहरूको आन्तरिक सहमतिपछि स्ववियू गठन गर्ने निर्णय भए पनि जनक कलेज प्रशासन भने विभिन्न बहानामा निर्वाचन टार्न लागिपरेको विद्यार्थी संगठनहरूको आरोप छ।

गैंडाकोटका चार कलेजमध्ये तीन कलेजमा स्ववियू निर्वाचन सम्पन्न भइसकेको छ, जसमा नेविसंघले नेतृत्व लिएको छ। तर, जनक कलेजमा अखिल (क्रान्तिकारी) नेतृत्वमा स्ववियू बन्ने निश्चित भएपछि कलेज प्रशासन निर्वाचन टार्न रणनीति बनाएको विद्यार्थी नेता गणेश तिवारीले बताए। कलेज प्रशासनले चैत्र २ गतेदेखि १० गतेसम्म पठनपाठन बन्द गराएर स्ववियू रोक्ने प्रयास गरेको तिवारीको भनाइ छ।

कलेज प्रमुख बिदामा बसेर कसैलाई कार्यवाहक जिम्मेवारीसमेत नदिइएको भन्दै विद्यार्थीहरू आक्रोशित छन्। स्ववियू निर्वाचन समितिले पनि निर्वाचन गराउन नसकिने भन्दै हिजो मात्र सामूहिक राजीनामा दिएको छ। यस विषयमा बुझ्न खोज्दा क्याम्पस प्रमुखसँग सम्पर्क गर्न खोज्दा फोन उठेन। यस विषयमा कलेज प्रशासनको औपचारिक धारणा आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट