Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल, डिएसपीको कमाण्डमा खोजी गर्दा पनि अझै भेटिएन

मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल, डिएसपीको कमाण्डमा खोजी गर्दा पनि अझै भेटिएन

हेटौंडा : मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले प्रहरीको पेस्तोल लुटेर भागेका छन् । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर आरोपीहरु फरार भएका हुन् ।

गएराती देखिनै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन भएपनि हतियार अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिश्वराज खड्काले बताए ।

हवल्दार तामाङ र सहायक हवल्दार गोविन्द्र मग्राती लागुऔषध कारोबार भइरहेको सूचना पाएर जंगलमा गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एकजना अधिकृतले बताए । सोमबार मध्यान्ह प्रहरीलाई देखेर २ केजी अफिम र मोटरसाइकल छाडेर लागुऔषध कारोबारी भागेका थिए ।

अफिम र मोटरसाइकल लिएर ईलाका प्रहरी कार्यालय तर्फ आउँदै गर्दा ठुलो समूहले घेरा हालेर प्रहरीलाई कुटपिट समेत गरेर पेस्तोल लुटेर भागेका हुन् । ७ राउण्ड गोली लोड भएको टाइप–५४ पेस्तोल लुटपाट भएको जिप्रका मकवापुरका अधिकृतहरु बताउँछन् ।

आरोपीहरुको खोजीमा ईप्रका मकवानपुरका इन्स्पेक्टर सविनबावु अर्याल, मनहरीका इन्स्पेक्टर विशाल सापकोटा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्याल र धादिङस्थित ईलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर सुमन चापागाईं खटिएका छन् । लागुऔषध कारोबारीको खोजीमा ६० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एकजना अधिकृतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट