कसरा : चैते दसैँका बेलामा चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरानजिक लाग्ने विक्रमबाबाको पूजा सुरू भएको छ । चैत औँसीदेखि पूर्णिमासम्म चल्ने मेला औँसीको दिन थारु समुदायका गुरौले पूजाआजा गरेपछि औपचारिकरुपमा शुभारम्भ हुने प्रचलन छ ।
भरतपुर महानगरपालिका–२३ को संरक्षकत्वमा मेला सुरू गरिएको हो । पहिलोपटक थारु समुदायका गुरूलाई मुख्य पूजारीका रुपमा तोकेर पूजा सुरू गरिएको छ । संघीय सांसद् अन्जनी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न शुभारम्भको अवसरमा जिल्ला समन्वय चितवनका अध्यक्ष नारायण अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, नयाँ गोरखा गणका गणपति शिवराम बस्नेत, चितवन राष्ट्रिय निकुञ्ज कसरा संरक्षण अधिकृत गणेश पन्त, चितवन जिल्ला प्रहरी प्रमुख राजन लिम्बूलगायत उपस्थित थिए ।
चितवन निकुञ्जको जङ्गलभित्रै विक्रमबाबाको पूजा हुने गरेको छ । त्यहाँ कुनै मन्दिर छैन । ठूलो सालको रुखको आडमा बनेको थानमा बाबाको पूजा गर्ने परिपाटी छ । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ ।
बिहान ७ देखि बेलुका ५ बजेसम्म पूजाका लागि निकुञ्जमा प्रवेश खुला गरिनेछ भने मेला बिहान ६ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिनेछ । पूजा निकुञ्जभित्र भए पनि मेला भने भरतपुर–२३ स्थित घैलाघारी सामुदायिक वनको चौरमा हुने भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दीपक दवाडीले बताए ।
यसपटक मेलाको पहिलो दिन हुँदै आएको बलि रोकिएको वडा अध्यक्ष दवाडीले जानकारी दिए । ‘पहिलो दिन चढाउने गरिएको बलि दिने प्रथालाई हटाएका छौँ’, उनले भने, ‘परेवा तिथिबाट भने चढाउन पाइने व्यवस्था छ ।’ चितवन निकुञ्जको सीमाभित्र हुने पूजास्थलमा सुरक्षाका लागि नेपाली सेनाले पनि समन्वय गरेको वडाध्यक्ष दवाडीले बताए । जगतपुर, घैलाघारीमा पूजा अवधिभर मेला लाग्दछ । पूजास्थल निकुञ्जभित्र रहेका कारणले प्लास्टिकहरु लैजान बन्देज लगाइएको वडाध्यक्ष दवाडीको भनाइ छ । नेपालभरिबाट मात्रै नभएर सीमावर्ती क्षेत्रका भारतीयहरु पनि विक्रमबाबामा आउने उनले बताए ।
मेलाका संरक्षकसमेत रहेका वडा अध्यक्ष दवाडीका अनुसार मेलामा ३०० स्टल’ रहने छन् । त्यहाँ भक्तजन ठगिनु नपरोस् भनेर मूल्यसूची टाँसिनेछ । विद्यालयको वार्षिक परीक्षा सकिएकाले यसवर्ष आठ लाखभन्दा बढी भक्तजन मेला भर्न आउने अनुमान गरिएको उनको भनाइ छ । जगतपुरको आन्तरिक एवं बाह्य धार्मिक र पर्यटन विकासका लागि यो विक्रमबाबा पूजा अति उपयोगी हुने उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij