भरतपुर : बिजुलीका पोलमा रहेका अनावश्यक केबुल तथा इन्टरनेटका तारको गुजुल्टाले नारायणगढ बजार कुरुप बनेको छ । इन्टरनेट तथा केबुलका अनावश्यक तार त्यसै छोडिँदा बजारको सुन्दरतामा ह्रास आएको छ ।
भरतपुर महानगरपालिका वडा नं ३ ले अनावश्यक केबुल तथा इन्टरनेटका तार हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । वडाध्यक्ष विकास थापाका अनुसार वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा निर्माणमा अनावश्यक बिजुलीका पोलमा राखिएको केबुल तथा इन्टरनेटका तारले बाधा पु¥याइरहेको छ ।
विद्युत् वितरणका लागि गाडिएका पोलमा थाम्नै नसकिने तारका गुजुल्टाले बजार कुरुप बन्दै गएको उनको भनाइ छ । ‘कतै तार भुँइमा लत्रिएका छन्, कतै गुजुल्टिएर बसेका छन् । एकचोटी पोलमा टाँगेको तार बिग्रेर बस्दा पनि कहिल्यै हट्दैन’ वडाध्यक्ष थापाले भने, ‘एकातिर दुर्घटनाको जोखिम, अर्कोतिर बजार कुरुप देखियो ।’
भरतपुर महानगरपालिका वडा नं ३ ले वडाको कार्य क्षेत्रभित्र विभिन्न टोलमा आफ्नो व्यापार व्यवसायको लागि विद्युत् पोलहरुमा राखिएको केबुल टिभी तथा इन्टरनेटका अनावश्यक तार ३५ दिनभित्र हटाउन सम्बन्धित निकायलाई निर्देशन गरेको छ ।
विद्युत् प्राधिकरणले नियमित रुपमा अनुगमन गरी अनावश्यक तार सम्बन्धित निकायलाई हटाउन निर्देशन नगर्दा पनि समस्या आएको सरोकारवालाहरु बताउँछन् । नराख्दा अव्यवस्थित तारका गुजुल्टाले बजारको स्वरुप नै परिवर्तन गरेको छ ।
‘कुनै इन्टरनेट बन्द भइसक्यो, तर पोलको तार हटेको छैन, केबुल लाइनहरु बन्द भयो, सम्बन्धित निकायले पोलको तार हटाउँदैन, लत्रेर गुजुल्टिएर तार बसेका छन्, सम्बन्धित निकायले चासो दिँदैन’ वडाध्यक्ष थापाले भने, ‘हटाउन निर्देशन गरेका छौँ, नहटाए टोल विकास संस्था, वडा कार्यालय र प्रहरीको सक्रियतामा हटाइनेछ ।’ बिजुलीको तार हटाउँदा सम्बन्धित निकाय नै क्षतिको जिम्मेवारी रहने उनले बताए ।
अनावश्यक तारकै कारण कतिपय बिजुलीको पोलमा आगलागी भइरहेको छ । यो समय आगलागी हुने जोखिम बढी छ । विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित हुँदा कयौँ ठाउँमा तारहरु भुइँमा लत्रेका छन् ।बालबालिकाहरु खेल्दै जाँदा दुर्घटनामा पर्ने जोखिम पनि बढी छ । स्मार्ट सिटी बनाउने भनिरहँदा अव्यवस्थित बिजुलीको तारले गिज्याइरहेको अनुभूति हुने वडाध्यक्ष थापा बताउँछन् ।
उनले भने, ‘तोकिएको अवधिमा सेवा प्रदायकले हटाएर सहयोग गरेन भने वडाले तार काटिदिन्छ ।’ प्रयोगमा आएका भन्दा नआएका तार धेरै भएकाले पनि बजारको सौन्दर्यमा असर गरेको महसुस गरी सम्बन्धित सेवाप्रदायक कम्पनीलाई तार हटाउन निर्देशन दिइएको उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij