हेटौंडा : मकवानपुरको मनहरीमा रात्रि बसको ठक्करबाट एकजना युवाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तरगत मकवानपुरकाे मनहरी गाउँपालिका ६ लाेथरस्थित प्रहरी चौकी अगाडी प्रदर्शन गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।
गएराति करिब ३ बजेकाे समयमा यात्रु बसले म्याजिकलाई ठक्कर दिदा म्याजिक चालक राक्सिराङ गाउँपालिका ४ का ३२ वर्षीय सन्देश काेइरालाकाे मृत्यु भएकाे थियो । चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०३-००१ च ३०१२ नम्बरको म्याजिक गाडी एक आपसमा ठक्कर खाई दुर्घटना भएकाे थियाे ।
म्याजिकमा चालकबाहेक अन्य कुनै यात्रु नरहेकाे प्रहरीले जनाएकाे छ । दूर्घटनामा म्याजिक चालक कोइरालाको खुट्टा, टाउको र शरिरहरुमा चोट लागी गम्भीर घाईते भई उपचारको लागी चितवन नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा डाक्टरले मृत घाेषणा गरेका थिए ।
मृतककाे शव साेही अस्पतालमा रहेकाे र बस चालक नियन्त्रणमा रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । स्थानीयले चालकलाई कार्वाही गर्नुपर्ने माग गर्दै राजमार्ग बन्द गरेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij