Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

पशुपालनको ऋणले घरजग्गा लिलाम ! गाई मरे, बिमाको रकम पाइएन : पीडित

पशुपालनको ऋणले घरजग्गा लिलाम ! गाई मरे, बिमाको रकम पाइएन : पीडित

राप्ती : राप्ती नगरपालिका वडा नं–७ सिक्स ग्रुपकी पूर्णमाया गुरूङले पाँच वर्षअघि पशुपालनका लागि फाइनान्सबाट २६ लाख कर्जा लिइन् । सोही नगरपालिका वडा नं–८, खुरखुरे बजारमा रहेको आइसिएफसी फाइनान्सबाट कर्जा लिएर उनले गाईपालन सुरू गरिन् । उनले २०७६ सालमा १६ लाख व्यक्तिगत र १० लाख पशुपालन शीर्षकमा कर्जा लिएकी हुन् । फाइनान्सबाट ऋण लिएर उनले गाईपालन सुरू गरिन् ।

उनको गोठमा २६ वटा गाई थिए । दूध बेचेरै कमाएको ११ लाख रूपैयाँ उनले उक्त फाइनान्समा तिरिन् । २०७९ सालसम्म उनले एकमुष्ट ११ लाख र त्यसपछि तीन किस्ता तिरेको भौचर उनीसँग अझै सुरक्षित छ । पहिलो किस्ता २० हजार ५००, दोस्रो किस्ता ६४ हजार ५०० र तेस्रो किस्ता २८ हजार तिरेको भौचर उनीसँग छ । २०७९ सालमै उनको गोठमा रहेका ५ वटा गाई अज्ञात रोगले मरे । आइसिएफसी फाइनान्सले गोठमा रहेकामध्ये ८ वटा गाईको बिमा गरेको थियो । त्यही बिमा गरेकामध्ये ५ वटा गाई मरेको गुरूङले बताइन् ।

उनका श्रीमान् सुकबहादुर गुरूङ विदेशमा थिए । घाँस–दाउरा गर्ने क्रममा उनको खुट्टा भाँचियो । दुई वर्षअघिदेखि उनले फाइनान्समा पैसा बुझाउन सकिनन् । गत असार महिनामा फाइनान्सले उनको घरजग्गा लिलाम गरिदियो । २६ लाख कर्जा लिएकोमा उनले किस्ता र व्याज गरी १२ लाख ३० हजार रूपैयाँ तिरेको देखिन्छ । त्यसपछि उक्त फाइनान्सले नौं महिनाअघि ३५ लाखमा साढे दुई कठ्ठा जग्गासहित एकतले पक्की घर लिलाम गरेको हो ।

गुरूङले पशुपालनका लागि लिएको ऋण तिर्न नसक्दा अहिले बिचल्ली भएको छ । फाइनान्सले पूर्वजानकारीबिना घरजग्गा लिलाम गरेको पीडित गुरूङले बताइन् । ‘दस वर्षभित्र तिरिसक्ने लिखित सम्झौता भएको थियो’, उनले भनिन्, ‘कर्जा लिएको पाँच वर्ष नपुग्दै घरजग्गा लिलाम गरेर बिचल्लीमा पारे ।’

लघुवित्त संस्थाविरूद्ध संघर्ष समिति नेपालले गुरूङको लिलाम भएको घर फिर्ता ल्याउन प्रयास सुरू गरेको छ । फाइनान्सले लिलाम गरी अर्को व्यक्तिलाई बिक्री गरिसकेको भए पनि उक्त घर खाली गराउन अहिलेसम्म कोही नआएको लघुवित्त संस्थाविरूद्ध संघर्ष समिति नेपालकी अध्यक्ष सुधा पाठकले जानकारी दिइन् । संघर्ष समितिले उक्त घर जोगाउन कब्जा गरेको घोषणा गरेको छ । घरमा नेपालको झन्डा तथा संघर्ष समितिको ब्यानर समेत टाँगिएको छ । ऋण तिर्ने समयावधि बाँकी रहँदारहँदै गुरूङको परिवारलाई सुकुमबासी बनाउने नियतले घरजग्गा लिलाम गरिएको अध्यक्ष पाठकले बताइन् । घरजग्गा बिक्री गर्नुपूर्व वडा कार्यालयले घर, बाटोको सिफारिस दिनुपर्छ । सिफारिस दिनुपूर्व वडा कार्यालयले बैंक र पीडित पक्षलाई बोलाएर सहमतिको प्रयास नगरेको संघर्ष समितिको आरोप छ ।

पीडित गुरूङले फाइनान्सले गाई मर्दा पनि बिमाबापतको पैसा नदिएको बताइन् । ‘गाई मरे, बिमाबापतको पैसा दाबी गर्दा गाईको नभई गोठको बिमा गरेको भनी फाइनान्सले ठग्यो’, उनले भनिन्, ‘बारम्बार घरभित्र पसेर फाइनान्सका कर्मचारीहरुले खोजतलास गरे ।’ गुरूङको गोठमा एक लाख ५० हजार मूल्य पर्ने दुधालु गाई थिए । बाँकी रहेका गाईहरु बिक्री गरेको पैसासमेत फाइनान्सका कर्मचारीहरु आएर लगेको उनले आरोप लगाइन् । ‘गाई बेचेको पैसा लगे’, उनले भनिन्, ‘तर भौचर दिएनन् ।’

गुरूङको गुमेको घरजग्गा फिर्ता गराउन संघर्ष समितिले स्थानीय सरकारलाई आग्रह गरेको छ । अहिले सुकबहादुर र पूर्णमायाका दुई छोरा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । ‘पीडित परिवार फाइनान्समा कर्जा तिर्न तयार छन्’, संघर्ष समितिकी अध्यक्ष पाठकले भनिन्, ‘त्यसका लागि स्थानीय सरकारले वातावरण बनाइदिनुपर्छ ।’ उनले गुरूङ परिवारले घर छोड्न पर्ने अवस्था आयो भने वडा कार्यालय र फाइनान्सविरूद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिइन् ।

आइसिएफसी फाइनान्स खुरखुरे शाखाका प्रमुख इन्द्रप्रसाद पौडेलले गुरूङका परिवारले सरकारलाई बुझाउनुपर्ने राजस्वसहित लिलामबराबरको पैसा बुझाउन सके लिलाम सकारेका व्यक्ति घरजग्गा फिर्ता गर्न तयार रहेको बताए । लामो समयदेखि सावाँ र किस्ता नबुझाएका कारण नियमानुसार सूचना निकालेरै घरजग्गा लिलाम भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij