Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

टेकोका भरमा देवघाटधामको झोलुङ्गे पुल

टेकोका भरमा देवघाटधामको झोलुङ्गे पुल

तनहुँ : चितवन र तनहुँ जिल्लालाई जोड्ने देवघाटधाममा रहेको झोलुङ्गे पुल जीर्ण भइसक्दा पनि सम्बन्धित निकायले मर्मत कार्यमा चासो नदेखाउँदा जोखिम बढ्दै गएको छ ।त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाटधाममा देशविदेशबाट तीर्थाटनमा आउने भक्तजन जोखिम मोलेरै धराप जस्तै बनेको झोलुङ्गे पुलबाटै वारपार गर्न बाध्य छन् । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुल्चोक ललितपुरका इन्जिनियर प्रवेश रेग्मीले २०३५ सालमा बनेको यो पुलको औसत आयु नै सकिन लागेको बताउनुभएको छ ।

“देवघाटको झोलुङ्गे पुलको अवस्था अत्यन्तै जीर्ण छ । तत्काल वैकल्पिक पुलको खोजी हुन जरुरी छ,” उहाँले भन्नुभयो । फलामका संरचनाबाट बनेका पुलको औसत आयु ५० वर्ष हुने उहाँको भनाइ छ । “धेरै पहिला जिङ्कको जलप लगाउने प्रविधि थिएन । जिङ्कको जलप नलाउँदा फलामलाई खियाले छिटो खाने समस्या हुन्छ । खिया लाग्ने समस्या देवघाटको झोलुङ्गे पुलमा पनि देखिएको छ,” उहाँले भन्नुभयो, “पुलको दुवै भागमा रहेका अग्ला अग्ला फलामका टावर खियाले ढल्ने अवस्थामा पुगेका छन् । चितवनतर्फ रहेको बायाँ टावरलाई त अहिले फलामको टेका नै दिएर राखिएको छ ।”

झोलुङ्गे पुलका लागि टावर नै मुख्य आधार हो । यो टावरलाई जोड्ने पुलको फलामकै लट्ठा पनि पुरानो भएका र पुलमा तल लगाइएको फलामका नटबोल्ट पनि खियाले खाइसकेको हुँदा भाँच्चिने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो । “हाम्रो अध्ययनमा यो पुल नेपालकै सबैभन्दा जोखिमपूर्ण झोलुङ्गे पुल हो । यसको मर्मतसम्भार गरेर मात्रै पुग्दैन, पुनर्निर्माण नै गर्नु पर्छ । यसको मर्मतसम्भार गर्नु भनेको पनि पुललाई सम्पूर्ण रूपमा खोलेर पूरै नयाँ बनाउनु हो,” उहाँले भन्नुभयो । धार्मिक क्षेत्र देवघाटमा अहिले पनि दैनिक तीर्थाटन गर्न आउने हजारौँ भक्तजनको ओहोरदोहोर भइरहन्छ । अझै माघेसङ्क्रान्ति, साउनका सोमबार, औँसी, पूर्णिमा, शिवरात्रिलगायतका विशेष तिथिमा भिडभाड थामिनसक्नुको हुन्छ । पुलमा मोटरसाइकललगायतका सवारीसाधन ओहोरदोहोर गर्न पूर्ण रूपमा बन्देज लगाउनुपर्ने तीर्थयात्रीको भनाइ छ । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका पूर्वसिनियर इन्जिनियर गौरी श्रेष्ठ अहिले यो पुलमा जथाभाबी मोटरसाइकल कुदाउँदा जोखिम झनै बढेको बताउनुहुन्छ ।

“एकातिर पुल जीर्ण भएर प्रबलीकरण गराउनुपर्ने अवस्थामा पुगेको छ भने अर्कातिर जथाभाबी मोटरसाइकल, स्कुटरलगायतका सवारीसाधन चलाउँदा कुनै निकायले रोक्न ध्यान दिएको छैन,” उहाँले भन्नुभयो, “पैदल यात्रुका लागि डिजाइन गरेर बनाइने यस्ता झोलुङ्गे पुलमा सवारीसाधन चलाउन दिनु नै गलत हो ।” पुलमा यात्रुको भिडभाड तथा सवारीसाधन रोक्न नसके कुनै पनि बेला गम्भीर दुर्घटना निम्तिन सक्ने उहाँले भन्नुभयो ।

झोलुङ्गे पुलको सुरक्षालाई ध्यान दिएर सवारीसाधनको आवागमनमा रोक लगाउँदै एक पटकमा एक सय जना मात्रै ओहोरदोहोर गर्न/गराउन देवघाट क्षेत्र विकास समितिले सूचना जारी गरेको छ तर यो सूचनालाई स्थानीयले अटेर गर्दै आएका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले पुलको सुरक्षालाई ध्यान दिएर सस्पेन्सन डिभिजन कार्यालय ललितपुरको पत्रलाई आधार बनाउँदै जिल्ला प्रशासन कार्यालय चितवनले लेखेको पत्र कार्यान्वन गर्दै देवघाट क्षेत्र विकास समितिले गत माघ २१ गते सूचना जारी गरेको भए पनि कार्यान्वनमा नआएको स्विकार्नुभयो ।

गत माघ २० गते सस्पेन्सन कार्यालयले जिल्ला प्रशासन कार्यालय चितवनलाई पत्र लेखेर पुल जीर्ण भएकाले सुरक्षा अपनाउन अनुरोध गरेको थियो । सस्पेन्सन कार्यालयको पत्र आएलगत्तै जिल्ला प्रशासन कार्यालय चितवनले माघ २० गते नै जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्र लेखेको थियो । भरतपुर महानगरपालिका, देवघाट क्षेत्र विकास समिति र देवघाट गाउँपालिकालाई बोधार्थ दिएर कार्यन्वनमा निर्देशन दिएको थियो । सोही पत्रका आधारमा क्षेत्र विकास समितिले पुलमा रोक लगाउन सूचना जारी गरेको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले भन्नुभयो, “जनता अटेरी भए अब एक÷एक जना मात्रै छिर्न मिल्ने गरी पुलको बिचमा पोल गाडेर पनि सवारीसाधन ओहोरदोहोर गर्न रोकेर सम्भावित दुर्घटना रोक्न जरुरी छ ।”

(गोरखापत्र दैनिकमा आज प्रकाशित यो समाचार वसन्त पराजुलीले लेखेका हुन् ।)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij