काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाउने प्रतिभालाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले पुरस्कार पाउने सबैको प्रशंसा गर्नुभएको हो ।“नेपाली माटोलाई गौरवान्वित पार्ने प्रतिभालाई हार्दिक बधाई ! तपाईंहरूको लगन, परिश्रम र योगदानलाई सलाम !” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।
उहाँले आफूलाई युनिभर्सल पिस फेडेरेसन, कोरियाले सन् २०१८ डिसेम्बरमा “लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड” एक लाख अमेरिकी डलरको पुरस्कार प्राप्त भएको थियो र उक्त राशिमा त्यति नै थप गरी अक्षयकोष स्थापना गरेर हरेक वर्ष राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्री ओलीका अनुसार पहिलो पटक चिकित्सक डा सन्दुक रूइत, कृषि उपकरण अन्वेषक रदी मिया र मादकपदार्थ सेवन गरी चलाएको सवारीसाधन आफैँ रोकिने प्रविधिका अन्वेषक विकल्प ढुङ्गाना पुरस्कारबाट सम्मानित हुनुभएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । सरकारले पहिलो पटक २०७६ सालमा पहिलोपटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएको थियो ।राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो ।
टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा)ले पुरस्कृत घोषित हुनुभयो ।
यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओम मूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत हुनुभयो ।नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।
प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही रू पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भए पनि कोरोना महामारीका कारण २०७७ सालदेखि उक्त पुरस्कार वितरण हुन सकेको थिएन । सरकारले हिजो बुधबार एकै पटक पाँच वर्षको पुरस्कार १० जनालाई दिने घोषणा गरेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij