भक्तपुर: अधिक गतिमा सवारी साधन चलाएर लापरबाहीका कारण दुर्घटना भएपछि भक्तपुर ट्राफिक प्रहरीले कारबाही प्रक्रिया तीब्र पारेको छ ।साउनयता सडक दुर्घटनाको अवस्था हेर्ने हो भने, त्यो संख्या १ सय ६० पुगेको छ । सल्लाघारी–पुरानो थिमि, सानोठिमी–मनोहरा सडक खण्डमा मात्रै १ सय ६० वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरको तथ्याङ्क छ ।
सडक दुर्घटना बढेपछि त्यसलाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले तीब्र गति नियन्त्रण अभियान थालेको प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले बताउनु भयो । यस सडक खण्डमा ४० किमी प्रतिघण्टा गति कायम गरिएको छ ।
निकोसेरा चोकदेखि मनोहरा पुलसम्म २० ठाउँमा गति सम्बन्धी चेतना एवं सूचनामूलक बोर्डहरु राखिएको प्रमुख खत्रीले बताउनु भयो । यसका लागि ट्राफिकलाई मध्यपुर थिमि नगरपालिकाले आर्थिक सहयोग जुटाइदिएको हो ।
प्रहरी निरीक्षक खत्रीले भन्नु भयो, ‘अरनिको राजमार्ग रुटमा प्रतिघण्टा ४० किमी भन्दा बढी गतिमा सवारी साधन चलाए कारबाही हुन्छ ।’ फराकिला सडकलाई ४० र बस्ती भित्रका सडकमा प्रतिघण्टा ३० को गति सिमित गरिएको उहाँको भनाइ छ ।
६ लेन सडक र अरनिको राजमार्गमा प्रति घण्टा ५० किमीको गति निर्धारण गरिएको कार्यालयले जनाएको छ । स्पिड जाँच गर्ने मेसिन राडार गन सडकका धेरै ठाउँमा राखेर तीब्र गतिमा हुँइकिएका सवारी साधन चलाउनेलाई जतिबेला पनि कारवाही गर्नसक्ने गरी राखिएको ट्राफिक प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
नियमानुसार कारवाही गर्नु भनेको दुर्घटनाबाट सुरक्षीत रहनु हो भन्ने बुझ्न सबैलाई आग्रह गरिएको छ । यस्तो सचेतनामूलक बोर्ड र चेकजाँचले तीब्र गति नियन्त्रण तथा दूर्घटना न्यूनीकरणमा सहयोग पुगेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख माधव बुढाथोकीले बताउनु भयो ।सडक दुर्धटना न्यूनिकरणमा नागरिकको पनि भूमिका महत्वपूर्ण हुनेमा आफु विश्वस्त रहेको उहाँको धारणा छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij