Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अमेरिकाले बाइडेनको नीति त्याग्दा खुसी छ रुस, साउदी अरबमा भएको वार्तामा के भयो ?

अमेरिकाले बाइडेनको नीति त्याग्दा खुसी छ रुस, साउदी अरबमा भएको वार्तामा के भयो ?

साउदी अरब : युक्रेनमा जारी युद्ध रोक्न साउदी अरबमा रुस र अमेरिकाबिच भएको उच्चस्तरीय बैठक सकिएको छ । रुसी प्रतिनिधिमण्डलका एक सदस्यले वार्ता नराम्रो नभएको बताए । तर थप केही भन्न गाह्रो हुने उनको भनाइ थियो ।

यस बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ उपस्थित थिए । उनीहरू दुवै सोमबार राजधानी रियाद पुगेका थिए । रुसी प्रतिनिधिमण्डलमा पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ पनि उपस्थित थिए ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज र मध्य पूर्वका लागि वाशिंगटनका विशेष दूत स्टिभ विटकफ पनि अमेरिकी प्रतिनिधिमण्डलमा सामेल भएका थिए । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई यस बैठकमा आमन्त्रित गरिएको थिएन । बैठकको भोलिपल्ट जेलेन्स्की आफ्नी श्रीमतीसँग साउदी अरेबियाको भ्रमणमा आइपुग्दै छन् । यद्यपि, यस भेटमा कुनै पनि रुसी वा अमेरिकी अधिकारीलाई भेट्ने योजना उनको छैन ।

सबै महत्त्वपूर्ण मुद्दाहरूमा गम्भीरतापूर्वक छलफल गरेको युरी उशाकोभलाई उद्धृत गर्दै युक्रेनी मिडिया किभ इन्डिपेन्डेन्टले लेखेको छ । रूस र अमेरिका दुवैले युक्रेनमा युद्ध रोक्न चाहेको र यसकारण एकअर्काको हितलाई ध्यानमा राख्दै दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने पनि उनले बताए । अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीचको भेटवार्ताबारे पनि कुरा भएको तर उनीहरूबिच भेटघाट अर्को हप्ता हुने सम्भावना कम रहेको पनि उशाकोभले बताए ।

आवश्यक परेमा जेलेन्स्कीसँग कुरा गर्न तयार छन् पुटिन

यसअघि, बैठकको क्रममा रूसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आवश्यक परेमा राष्ट्रपति पुटिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको बताएका थिए । तर, उनले जेलेन्स्की साँच्चै युक्रेनका राष्ट्रपति हुन् र भन्ने प्रश्न उठाएका थिए ।

युक्रेन युरोपेली संघमा सामेल हुने विरुद्धमा नभएको पत्रकारहरूसँग कुरा गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए । रुसले यो संगठनलाई आफ्नो सुरक्षाको लागि खतरा नमान्ने उनको भनाइ थियो । युरोपेली संघमा सामेल हुने वा नहुने भन्ने निर्णय युक्रेनले गर्ने उनले बताए । यस संगठनको हिस्सा हुनु कुनै पनि देशको ‘सार्वभौम’ अधिकार भएको तर नेटो जस्ता रक्षा संगठनहरूको मामिलामा रुसको विचार फरक भएकोमा उनले जोड दिए ।

बैठकमा आमन्त्रित थिएनन् जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई युक्रेन युद्ध रोक्ने र शान्ति बहाली गर्नेबारे भएको यस वार्तामा बोलाइएको थिएन । बीबीसी न्यूजले एक वरिष्ठ युक्रेनी सरकारी अधिकारीलाई उद्धृत गर्दै यो कुरा पुष्टि गरेको छ । यसअघि, अमेरिकी विशेष दूत किथ केलॉगले युक्रेनको संलग्नताबारे बोलेका थिए ।

यस बैठकमा युरोपेली देशका नेताहरूलाई पनि आमन्त्रित गरिएन । युरोप वार्ताबाट बाहिरिन सक्ने डरले फ्रान्सेली राष्ट्रपतिले सोमबार एक दिन अघि नै शिखर सम्मेलन आह्वान गरेका थिए । युरोपेली देशका नेताहरूले यसमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट