Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

मापदण्ड विपरीत खानी र क्रसर उद्योग सञ्चालन

मापदण्ड विपरीत खानी र क्रसर उद्योग सञ्चालन

काभ्रे : काभ्रे जिल्लामा गत असोज दोस्रो साताको बाढीपहिरोले व्यापक मानवीय तथा भौतिक क्षति पुगेर अति प्रभावित सूचीमा रहेका पालिकामा फेरि मापदण्ड विपरीत खानी र क्रसर उद्योग सञ्चालनमा आएका छन् । बाढी पहिरोको जोखिम कायमै भएकाले काभ्रेका पाँच वटा स्थानीय तहलाई सरकारले अति प्रभावित घोषणा समेत गरेको छ । जिल्ला अनुगमन समितिको निर्देशन विपरीत मापदण्ड पालना नगरेरै खानी र क्रसर उद्योग सञ्चालनमा आएका हुन् ।बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेश स्थानमा रहेको गणेश आधारभूत विद्यालयको पछाडिपट्टि रहेको चलाल गणेश स्थान खनिज उद्योग प्रा.लिमा भइरहेको उत्खननको कामले विद्यालयको पढाइ प्रभावित भएको हो ।

विद्यालय भवनको आडैमा ढुङ्गा, गिट्टी उत्खनन गर्ने क्रसर चलिरहेको छ, भित्र कक्षाकोठामा पढाइ भइरहेको हुन्छ । क्रसरको चर्को आवाजले शिक्षकले पढाएको न विद्यार्थीले राम्रोसँग सुन्न सक्छन् न विद्यार्थी भनेको शिक्षकले नै बुझ्न सक्छन् । कक्षामा पढाइ भइरहेको बेला खानीमा उत्खननको काम भइरहँदा पठनपाठनमा असहज हुने गरेको विद्यार्थीहरू बत्ताउँछन् ।अनुमति लिएर सञ्चालन गरेको भए पनि बस्ती नै जोखिममा राखेर उत्खनन गर्दा भविष्यमा ठुलो क्षति हुने चिन्ता स्थानीयको छ । बस्तीमाझ सञ्चालित खानी तथा क्रसर उद्योगका कारण आफूहरू सधैँ त्रासमा बस्नुपरेको उनीहरूको भनाइ छ । माघ ९ को जिल्ला अनुगमन समिति बैठकले काभ्रेका विभिन्न नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता नै बाढी पहिरोको मुख्य कारण रहेको निष्कर्ष निकाल्दै यस्ता उद्योगको नियमनका लागि कानुनी व्यवस्थाको पालना गराउन सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्णय गरेको थियो । तर, जिल्ला अनुगमन समितिको निर्णय विपरीत विभिन्न पालिकामा खानी र क्रसर उद्योग सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij