Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट

उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट

काठमाडौँ : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ ।‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुग्नुभएका मन्त्री खड्काले आज भारतका समकक्षी खट्टरसँग भेटवार्ता गर्नुभएको हो । भेटमा नेपाल भारतबीचको उर्जा विकासका विविध विषयमा छलफल भएको थियो ।

उर्जामन्त्री खड्काले गत नोवेम्बर ५ मा नयाँदिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भएको भेटमा इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाईन निर्माण प्रारुपमा सहमति गरेसँगै उक्त प्रसारण लाईन अगाडि बढाउन माघ ९ गते दुई देशबीचको सहसचिवस्तरिय बैठक र माघ २९ गते सचिवस्तरिय बैठक बसेर मोडालिटीबारे सहमति भएकोमा भारतीय विद्युतमन्त्रीलाई धन्यवाद दिनुभयो ।

उर्जामन्त्री खड्काले गत वर्षको नोबेम्बर १५ मा नेपालबाट भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिनुभयो । मन्त्री खड्काले नेपालले सुख्खायामको पिक आवर (बेलुका ६ बजेदेखि १० बजेसम्म) मा भारतीय पावर एक्सचेञ्जको विद्युत उपलब्ध हुन नसकेको भन्दै २४ सै घण्टा विद्युत उपलब्धताको स्वीकृत दिन माग गर्नुभयो ।

हाल भारतले नेपाललाई एक हजार मेगावाट विद्युत उपलब्ध गराउँदै आएपनि पिक आवरमा भने उपलब्ध गराएको छैन । उर्जामन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत आयोजनाको विद्युत निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराउनुभयो ।

उर्जामन्त्री खड्काले यसअघिको भारत भ्रमणका क्रममा भारतीय विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणका लागि निम्तो दिनुभएपनि आजको भेटमा फ्रेबुवरी अन्तिम साता नेपाल भ्रमण हुनेगरी छलफल भएको छ ।

भेटमा भारतका विद्युतमन्त्री खट्टरले नेपालको उर्जा क्षेत्रको विकासमा सँधै भारतको साथ र सहयोग रहेको बताउनुभएको थियो । उहाँले दुई देशबीचको विद्युत विकासलाई आपसी छलफल र सहकार्यमार्फत अगाडि बढाउने बताउनुभएको थियो । भारतका विद्युतमन्त्री खट्टरले भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभएको थियो ।

भेटमा मन्त्री खड्कासँगै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।यस्तै, भारतीय तर्फबाट विद्युतमन्त्री खट्टरसँगै विद्युत सचिव पङ्कज अग्रवाल र भारतको विद्युत संस्था एनएचपीसीका अध्यक्ष आरके चौधरीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट