काठमाडौँ : शनिवार बेलुका ८ बजेदेखि मतगणना गर्ने भनिएको अनेरास्ववियु (क्रान्तिकारी) को विशेष र विश्वविद्यालय प्रदेशमा पूर्वाअनुमानले निम्त्याएको विवाद अहिलेसम्म समाधान हुन सकेको छैन । मतगणनाअघि आचार संहिताबारे सर्वपक्षीय बैठक बसेको थियो । छलफलको क्रममा कस्तो मतलाई फर्जी मान्ने वा नमान्ने विषयमा विवाद भएको थियो । मतपत्रमा प्रयोग भएको रातो (साइन पेन) भन्दा फरक रङ्ग भएको साइन पेन प्रयोग गरिएमा के गर्ने भन्ने विषयमा अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा र हेमन्त राई पक्षबिच विवाद उत्पन्न हुँदा मतगणना रोकिएको निवर्तमान उपाध्यक्ष पवन कार्कीले जानकारी दिए ।
‘सर्वपक्षीय बैठकमा छलफल भइरहेको छ । विवाद मिलेको छैन । मतगणना भएपछि विवाद भएको होइन । पहिले नै फरक फरक रङकाे साइन पेन प्रयोग भएमा के गर्ने भन्ने विषयमा विवाद भएको हो । विजयजी पक्षले मतपत्रमा टिक जुनसुकै रङ्गको साइन पेन प्रयोग भए पनि मान्यता दिनुपर्ने अडान राखेका थिए । हेमन्तजी पक्षधरले निर्वाचन समितिले राखेको रातो रङ्गकै साइन पेन प्रयोग गर्नुपर्ने अडान राखेका थिए । यही विवादका कारण मतगणना अगाडि बढेको छैन । अहिले पनि सहमतिको प्रयास भइरहेको छ’, कार्कीले भने । यता फ्याक्सन इन्चार्ज आचार संहिता सम्बन्धमा कुरा नमिल्दा मतगणना रोकिएको बताए । सर्वपक्षीय सहमतिको आधारमा मतगणना सुरु गर्ने पहल भइरहेको जानकारी दिए ।
‘आचार संहिता कसरी पालना गर्ने भन्ने विषयमा कुरा नमिलेकाले केही मतगणनामा केही ढिलाइ भएको छ । सर्वपक्षीय सहमतिकै आधारमा मतगणना कार्य अगाडि बढाउने प्रयास भइरहेको छ’, शर्माले भने ।भूगोलको सात प्रदेशमा मतगणना कार्य अन्तिम चरणमा पुग्दा समेत सबैभन्दा मतदाता बढी भएको यी दुई प्रदेशको मतगणना अगाडि बढ्न सकेको छैन । विशेष प्रदेशमा २६४ र विश्वविद्यालयमा २५८ मत खसेको निर्वाचन समितिले जनाएको छ । सात प्रदेशको अन्तिम परिणाम आउँदा अध्यक्षमा सापकोटा २० मतका साथ अग्रता लिएका छन् । उनको ४८१ मत हुँदा राईको ४६१ मतका साथ पछ्याइरहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij