भक्तपुर : भक्तपुरको हनुमानघाटमा एक महिनासम्म लाग्ने माधव नारायण व्रत मेला चलिरहेको छ । नेपाल संवत् ७ सय २२ देखि सुरु भएको यो व्रत भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा माघ महिनाभर व्रत बसेर मनाइने प्रसिद्ध माधवनारायण मेला हो । राज रणजित मल्ल आफैले सुरु गरेको यो व्रत मेला काठमाडौंको साँखुको श्रीस्वस्थानी व्रत मेलाभन्दा पुरानो भएको मानिन्छ ।
पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको व्रत मेला भक्तपुर हनुमानघाटमा स्थानीयहरु एक महिनासम्म कठोर व्रत बस्ने गर्दछ । माधव नारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।
व्रतालु महिलाहरु यही बसे पनि पुरुषहरु भने हरेक दिन बिहान त्रिवेणी खोलामा आएर नुहाउने र व्रतालु महिलासँगै विभिन्न स्थानको कलश यात्रामा सहभागी जनाउने गर्दछन् ।
हिमालय पुत्री पार्वतीले श्री स्वस्थानी माताको कठिन व्रत बसेर महादेव पति पाएको धार्मिक किवंदन्ती छ । सोहीअनुसार पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म घरमा स्वस्थानी व्रतकथा बाचन गर्ने, सुन्ने तथा व्रतालुहरुले शिवलिंग र स्वस्थानी माताको पूजा गर्ने चलन रहीआएको छ ।



© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij