Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

दुश्मन हेरेको हेरै…

दुश्मन हेरेको हेरै…

गण्डकी: अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मङ्गलबार एकार्काका गीत फेसबुकमा साझा गरे । पहिले सपुतले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै…’ गीतलाई फेसुबकमा राख्नुभयो र ठट्यौली शैलीमा लेख्नुभयो, ‘दाई बाटो नछोड्ने ?’, त्यतिञ्जेल थापाको उक्त गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा थियो ।

सपुतको फेसबुक पोस्ट आएको केहीछिनमा थापाले पनि सपुतको गीत ‘साँझ पर्यो झमक्क…’ लाई आफ्नो फेसबुकमा साझा गर्नुभयो । सपुतको प्रशंसा गर्दै थापाले फेसबुकमा लेख्नुभएको थियो, “हामी सबै कलाकार एउटै परिवारको दाजुभाइ हौँ, मिलेर अगाडि बढ्ने हाम्रो संस्कार हो, भाइलाई सफलताको अग्रिम शुभकामना ।” थापाले यसो लेखिरहँदा सपुतको गीत ‘साँझ पर्यो झमक्क…’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा थियो ।

सपुत र थापाले जसरी एकार्काप्रतिको शुभेच्छा र सम्मानभाव दर्शाए आखिर भयो पनि त्यस्तै । सपुतको गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा उक्लियो । थापाको गीतले केही दिन युट्युब ट्रेन्टिङको शीर्षस्थान कायम रहँदै मनग्य दर्शक-स्रोता मन जित्न सफल रह्यो ।

अहिले दोस्रो स्थानमा रहेको उक्त गीतले ६१ लाखभन्दा बढी ‘भ्यूज’ बटुलिसकेको छ । अहिले युट्युब ट्रेन्टिङको पहिलो स्थानमा रहेको सपुतको गीत ‘साँझ पर्यो झमक्क…’ ले हालसम्म २८ लाख बढी ‘भ्यूज’ पाएको छ ।

चलचित्र निर्देशकसमेत रहनुभएका सपतुद्वारा निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश उक्त गीतमा सपुत र गायिका शान्तिश्री परियारको स्वर छ । चलचित्र ‘वसन्त’ आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

रोधीको संस्कृतिमा आधारित उक्त गीतले गाउँले परिवेशको झल्को दिन्छ । गीतको शब्द र सङ्गीत रचना पनि सपुत आफैँले गर्नुभएको हो । चलचित्र ‘वसन्त’मा उहाँ आफैँ मुख्य पात्रका रुपमा देखिँदै हुनुहुन्छ ।

थापाको गीत ‘दुश्मन हेरेको हेरै…’मा उहाँसहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ । थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पार्नुभएको हो ।

गीतको म्यूजिक भिडियोमा थापासहित कलाकार प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामालगायतका अभियन रहेको छ । उहाँको गीत दुई साताअघि र सपुतको गीत एक साताअघि युट्युबमा सार्वजनिक भएको थियो । दुवैले आफ्नै नामको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।

बागलुङको धम्जामा जन्मनुभका सपुत र गलकोटमा जन्मनुभएका थापा साङ्गीतिक क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल हुनुभएको छ । बहुप्रतिभाशाली कलाकार सपुतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सृजनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिनुहुन्छ ।

विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएका सपुत अहिलेका सर्वाधिक सफल कलाकारका रूपमा चिनिनुहुन्छ । मौलिक गीत ‘गलबन्दी’बाट चर्चाको उचाइमा पुग्नुभएका उहाँका गीतका म्युजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ बटुल्न सफल भएका छन् ।

सयौँ गीतमा अभियन र स्वर दिनुभएका थापाका ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा…’ लगायत गीत चर्चित छन् । थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिनुभएको छ ।

पहिलोपटक दीपक-दीपाको चलचित्र ‘छ माया छपक्कै..’ मा प्रोमोशनल गीत गाउनुभएका थापाले गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘ह्रस्वदीर्घ’मा गाउनुभएको ‘उठेर नाचिस्यो…’ गीत पनि चर्चित बनेको थियो ।

छिट्टै प्रदर्शनका आउन लागेको ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन…’ गीतको सङ्गीत र शब्द पनि उहाँले रचना गर्नुभएको हो । उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिनुभएको छ । थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’का रूपमा आफूलाई चिनाउन चाहानुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट