Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

अमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ । आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् बाहिर आइरहेका तस्बिरहरूले यो विपत्ति कति ठूलो छ भन्ने स्पष्ट बुझ्न सकिन्छ ।

सयौँ घरहरू ध्वस्त भएका छन्, गाडीहरू जलेका छन् र एटिएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् भने हावाहुरीले रूखहरु ढलेका छन् । लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपतकाल घोषणा गरेका छन् र वायुको गुणस्तर ‘निकै प्रदूषित’ रहेको बताएका छन् । यहाँको आकाश खरानीका सूक्ष्म कण र धुवाँको चादरले ढाकिएको छ।

आगलागीमा परी अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको पुष्टि गर्दै प्रशासनले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएको छ । लस एन्जलसका सयौँ भवनहरु ध्वस्त भएका छन् भने दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

आगो निभाउन हजारौं अग्निनियन्त्रकहरू अहिले पनि लागिपरेका छन् । यद्यपी धेरै ठाउँमा आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीपछि दुई लाख घरधुरीमा विद्युत् अवरूद्ध भएको छ ।लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले शहर तथा वस्तीको भयावह अवस्था रहेको बताउँदै भन्नुभयो, “यो क्षेत्रमा कसैले बम खसालेको जस्तो देखिन्छ ।”

प्यासिफिक पालिसेडमा आफ्नो जलेको घरको अगाडि उभिएर ग्रेग च्याम्पियनले पनि आगलागीले सम्पूर्ण क्षेत्रलाई आतङ्कित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको अवस्था बमले ध्वस्त पारेकोजस्तो छ।”

मौसम र जलवायु परिवर्तनको असरले आगामी दिनमा पनि डढेलो लाग्ने क्रम जारी रहने विज्ञहरुले आशङ्का व्यक्त गरेका छन् । यसका साथै अधिकारीहरूले पनि यस विपत्तिको पूर्वतयारीबारे तीखो प्रश्नहरूको सामना गरिरहेका छन्।

क्यानडा सरकार संयुक्त राज्य अमेरिकालाई सहयोग गर्न अगाडि आएको छ । क्यानडाले आगो निभाउन अग्निनियन्त्रकका अतिरिक्त विशेष उपकरणहरू पठाउँदैछ ।अन्य ६० हजार भवन जोखिममा परेका छन् । आगलागी र डढृलोका कारण व्यापक क्षति पुगेकोले बिमाअन्तर्गत कभर गरिने कुल सम्पत्ति आठ अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ ।

लस एन्जलस काउन्टीमा शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । यीमध्ये अधिकांश मानिसहरूले आफूले बोक्न सक्ने सामान लिएर आफ्नो घर छोडेका थिए ।यसबाहेक, एक लाख ६६ हजार बासिन्दालाई उनीहरूले चाँडै आफ्नो घर छोड्नु पर्ने हुन सक्छ भनी चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij