बेइजिङ: चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिनुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले महत्त्वपूर्ण निर्देशन दिँदै घाइतेहरुको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न माग गर्नुभएको छ ।
साथै उहाँले प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनःस्थापना गर्न पनि आग्रह गर्नुभयो ।चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्य तथा प्रधानमन्त्री ली छ्याङले मङ्गलबार उद्धार कार्य सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।
उहाँले भूकम्प प्रभावित क्षेत्र चिसो पठार क्षेत्रमा पर्ने भएकाले प्रभावित जनताको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र जाडोमा न्यानो रहनका लागि हरसम्भव उपाय अपनाउनुपर्ने बताउनुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य उपप्रधानमन्त्री झाङ गुओ छिङले भूकम्प गएको ठाउँमा टोलीको नेतृत्व गर्नुभएको छ । रासस/सिन्ह्वा
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij