Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी

काठमाडौं : बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वनेता शेख हसिनालाई बेपत्ता पारेको आरोपमा दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ ।विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा मित्र राष्ट्र भारतमा निर्वासित जीवन बिताइरहनुभएकी ७७ वर्षीया हसिनाविरुद्ध ढाकाले मानवताविरुद्धको अपराधको अभियोगमा यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ ।उहाँको १५ वर्षे कार्यकालमा उहाँका राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्याहरू भएको र व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भएको आरोप लागेको छ ।

घरेलु अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) का मुख्य अभियोजक ताजुल इस्लामले दोस्रो पक्राउ पुर्जी उहाँको शासनकालमा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूसँग सम्बन्धित रहेको बताउनुभयो ।बङ्गलादेशी सुरक्षाकर्मीले ५०० भन्दा बढी व्यक्तिलाई गैरकानूनी रूपमा नियन्त्रण गरेका थिए भने तीमध्ये केहीलाई वर्षौंदेखि गोप्य स्थानमा राखिएको थियो ।पूर्व प्रधानमन्त्री हसिनाले सत्ता छोडेसँगै पीडितहरूले भोगेका कष्टदायी घटनाहरू सार्वजनिक गर्न थालेका छन्।

“अदालतले शेख हसिना र उहाँका सैन्य सल्लाहकार, सैनिक कर्मचारी र अन्य कानून प्रवर्तन अधिकारीहरू सहित ११ जनाविरुद्ध पक्राउपूर्जी जारी गरेको छ,” इस्लामले पत्रकार सम्मेलनमा भन्नुभयो ।

बङ्गलादेशले गत डिसेम्बरमा भारतलाई हसिनालाई मुद्दाको सामना गर्न फिर्ता पठाउन आग्रह गरेको थियो तर दिल्लीले त्यसको जवाफ दिन अस्वीकार गरेको थियो । इस्लामले अदालतले मुद्दाको सुनुवाइ अघि बढाउन चाहेको बताउनुभएको छ ।“हामी जतिसक्दो चाँडो मुद्दाको सुनुवाइ टुङ्ग्याउन चाहन्छौं, तर यसको अर्थ यो होइन कि हामी कानुन भङ्ग गर्छौं वा उचित प्रक्रिया बिना नै फैसला दिन्छौं,” उहाँले भन्नुभयो ।

हसिनाको सरकार ढलेपछि उहाँका दर्जनौं सहयोगीलाई हिरासतमा लिइएको छ । उनीहरूलाई प्रहरी नियन्त्रण र कारबाहीमा संलग्न रहेको आरोप लगाइएको छ । उक्त कारबाहीमा ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij