Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भ्रष्टाचारविरुद्ध आजपाले वीरगन्जमा खबरदारी सभा गर्दै

भ्रष्टाचारविरुद्ध आजपाले वीरगन्जमा खबरदारी सभा गर्दै

पर्सा : आम जनता पार्टी (आजपा)ले भ्रष्टाचारको विरुद्धमा वीरगन्जमा प्रदर्शनका साथै खबरदारी सभा गर्ने भएको छ । साथै वीरगन्जलाई मुलुकको आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग समेत आजपाले गरेको छ । हालै भ्रष्टाचार विरुद्ध मधेसमा जागरण अभियान गरेको आजपाले वीरगन्जमा भ्रष्टाचार विरुद्ध खबरदारी सभा गर्न लागेको हो ।

आजपा पर्सा जिल्ला कमिटीले आज (बिहिबार) वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा नेताहरू यस्तो जानकारी गराएको हो । आजपा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले भ्रष्टाचार विरुद्ध खबरदारी सभा गर्न लागेको जानकारी दिए । वीरगन्जलाई देशको आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचार विरुद्ध जागरण गर्ने उद्देश्यले पुस २७ गते वीरगन्जमा हुने खबरदारी सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।

आजपा महासचिव त्रिभुवन साह अमरले सङ्घीय संरचना आउनुभन्दा अघि वीरगन्जलाई राजधानी बनाउने भनिए पनि वीरगन्जसँग धोका भएको बताए । प्रदेशको राजधानी वीरगन्जलाई बनाउन भनिए पनि षडयन्त्र गरिएको बताउँदै उनले वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्नमा पनि षडयन्त्र भइरहेको आरोप लगाए ।

आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले सरकारले हरेक बस्तु र क्षेत्रमा मनोमानी कर लगाएर मुलुकलाई धराशायी बनाउँदै गरिरहेको आरोप लगाए । आजपाले भ्रष्टाचार, सरकारको मनोमानी कर आतङ्क, वैदेशिक रोजगारमा भइरहेको ठगी, भन्सार कानुनमा रहेको लुटकारी व्यवस्था, एवं दलाल दलतन्त्र विरुद्ध आवाज उठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट