आँबुखैरेनी : नेपाली कम्युनिस्ट पार्टीले तनहुँको आँबुखैरेनीमा राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। अभियानको सुरुवातसँगै पार्टीले शुभकामना आदान–प्रदान कार्यक्रमसमेत आयोजना गरेको छ।
नेपाली कम्युनिस्ट पार्टी आँबुखैरेनी गाउँ समितिका अध्यक्ष खगराज गौलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर गौली (पारस) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शुक्र चुमान, गण्डकी प्रदेश सदस्य प्रेमबहादुर गुरुङ, मिना अधिकारी र दुर्गा अर्याललगायत नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सूर्यबहादुर गौली (पारस), केन्द्रीय सदस्य शुक्र चुमानलगायत वक्ताहरूले राष्ट्रिय जागरण अभियानको उद्देश्य, पार्टीको वैचारिक धारणा, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो विचार राख्नुभएको थियो।
undefined
शनिबार आँबुखैरेनी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र पार्टी संगठनलाई थप व्यवस्थित तथा सुदृढ बनाउने विषयमा समेत छलफल गरिएको थियो।
राष्ट्रियस्तरमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले कात्तिक ७ गते काठमाडौंस्थित केन्द्रीय कार्यालय पेरिसडाँडाबाट दुईमहिने अभियानको शुभारम्भ गर्नुभएको थियो। मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानको मुख्य उद्देश्य जनतासँग प्रत्यक्ष संवाद, जनजीविकाका समस्या पहिचान, पार्टी रूपान्तरण तथा संगठन सुदृढीकरण रहेको पार्टीले जनाएको छ।