Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

पोखरा :  तिहारका लागि मुस्ताङ, डोल्पा, मुगुलगायत हिमाली भेगबाट भेँडाच्याङ्ग्रा लिएर व्यापारी पोखरा झरेका छन् । बिक्रीका लागि पोखरा महानगरपालिका–१ सिमपानीमा भेँडाच्याङ्ग्रा राखिएको छ । दसैँको तुलनामा तिहारमा कम सङ्ख्यामा भेँडाच्याङ्ग्रा ल्याउने गरिन्छ ।

मुस्ताङको जोमसोमका व्यापारी पेम्बा छिरिङले तिहारका लागि ७०० च्याङ्ग्रा पोखरा भित्रिएको बताए । “मुस्ताङबाट बाहिरिएका एक हजार २०० च्याङ्ग्रामध्ये ५०० काठमाडौँ र ७०० च्याङ्ग्रा पोखरा ल्याइएको छ”, उनले भने ।

उनका अनुसार रोज्जा च्याङ्ग्राको मूल्य रु ४० हजार पर्छ । त्योभन्दा कम मूल्यका च्याङ्ग्रा बथानमा छन् । छिरिङले साथी निरज थकालीसँग मिलेर तिहारका लागि ५५ वटा च्याङ्ग्रा पोखरा ल्याएको बताए । दसैँमा तीनसय बढी च्याङ्ग्रा बेचेको उनले सुनाए ।


“दसैँमा च्याङ्ग्राको राम्रो व्यापार भयो, फूलपातिपछि त माग पुर्याउनै नसक्ने अवस्था आएको थियो,” छिरिङले भने, “तिहारमा च्याङ्ग्राको माग स्वभाविक रूपमा कम हुन्छ, तर अघिल्ला वर्षको तुलनामा यसपटक पोखरामा बढी सङ्ख्यामा भेँडाच्याङ्ग्रा भित्रिएका छन् ।”


अहिले सिमपानीका सात–आठ ठाउँबाट भेँडाच्याङ्ग्राको बिक्रीवितरण भइरहेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–६ का उदीम भाम पनि भेँडाच्याङ्ग्रा लिएर सुर्खेत हुँदै पोखरा आइपुगे । उनकोमा अधिकांश भेँडा र साँढ छन् । केही च्याङ्ग्रा छन् । मुगुदेखि चार दिन लगाएर पोखरा आइपुगेको भामले बताए ।

“दसैँमा च्याङ्ग्रा ल्याएर बेचेको हो, यसरी पोखरा आउन थालेको पाँच÷छ वर्षजति भयो,” उनले भने, “गत वर्ष केही घाटा खानुपर्यो, अहिलेको दसैँमा राम्रै व्यापार भयो, तिहारको आम्दानी कस्तो हुन्छ हेरौँ ।”

दसैँ–तिहारका बेला एउटा व्यापारीले डेढ÷दुई लाखसम्म कमाइ गर्ने गरेको उनको भनाइ छ । टाढादेखि च्याङ्ग्रा ल्याउनुपर्दा ढुवानी, खाना र बासमा धेरै खर्च हुने गरेको व्यापारी बताउँछन् । भेँडा च्याङ्ग्राको व्यापारबाट आफ्नो पुस्तैनी पेशा धानिनुका साथै चाडबाडका बेला उपझोक्ताको रोजाइ पनि पूरा हुने उनीहरु बताउँछन् । डोल्पाका सन्तोष धराला पनि १५० च्याङ्ग्रा लिएर बेच्नका लागि पोखरा झरेका छन् ।

“चाडबाडमा च्याङ्ग्रा बेच्न पोखरा आउन थालेको तीन वर्ष भयो”, उनले भने, “च्याङ्ग्राका लागि घाँस र चरण क्षेत्र पाइने भएकाले पोखरामा सहज पनि छ ।” आफ्नो मुख्य पेशा नै यही भएकाले घाटानाफा जेजस्तो हुँदा पनि च्याङ्ग्रा व्यापारलाई निरन्तरता दिँदै आएको धरालाले बताए ।

दसैँ–तिहारका बेला कतिपय बाहिरी जिल्लाका व्यापारी पनि च्याङ्ग्रा लिन मुस्ताङ पुग्ने गर्छन् । मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउँछन् । त्यहाँबाट म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा ल्याइपुर्याउन हप्तादिनसम्म लाग्छ । मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँसम्म पुग्ने गरेको छ । मुस्ताङदेखि बागलुङ, पोखरा हुँदै काठमाडौँसम्म ट्रकमा च्याङ्ग्रा लाने गरिए पनि केही व्यापारीले भने हिँडाएर पोखरासम्म ल्याउने गरेका छन् ।

लामो र कठिन यात्रा तय गरेर उनीहरुले च्याङ्ग्रा सहर भित्र्याउँछन् । मासुजन्य अरु परिकार बाह्रैमास पाइने भएपनि च्याङ्ग्राका लागि भने उपभोक्ताले दसैँ र तिहार नै कुनुपर्छ । विशेष गरी दसैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको बढी रोजाइमा पर्ने गरेको छ । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थ्यकर मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट