काठमाडौँ : धन्वन्तरि जयन्ती हिन्दु धर्ममा पवित्र तथा आरोग्यतासँग सम्बन्धित पर्व हो । तिथिको आधारमा मनाइने हुनाले प्रत्येक वर्ष कार्तिक कृष्णपक्षको त्रयोदशी अर्थात आजकै दिन पर्दछ । आजकै दिनमा भगवान् विष्णु आयुर्वेदका प्रवर्तक धन्वन्तरिको अवतार लिएर प्रकट भएको बताइन्छ।
धार्मिक मान्यता अनुसार आज भगवान् धन्वन्तरिको पूजा आराधना गर्दा परिवारमा सदस्यमा आरोग्ययता प्राप्त हुने, रोग व्याधिबाट मुक्ति मिल्ने र सुखी जीवन बिताउन सकिने विश्वास रहेको छ । श्रीमद्भागवत महापुराणको अष्टम स्कन्धको अध्याय ८ मा समुन्द्र मन्धन र धन्वन्तरिको प्रादुर्भाव वर्णन गरिएको छ ।
देवता र असुरद्वारा समुन्द्र मन्थनका क्रममा हलाहल, कामधेनु, येरावत, उच्चैःश्रवा अश्व, अप्सरा, कस्तुपमणि, वारुणी, महासंख, कल्पबृक्ष, चन्द्रमा, लक्ष्मी, कदलीबृक्ष आदिको उत्पत्ति पछि अन्त्यमा धन्वन्तरिको प्रादुर्भाव भएको थियो । हातमा अमृतले भरिएको सुवर्ण कलश लिएर चतुर्भुज धन्वन्तरि प्रकट भएका थिए ।
अमृत वितरण पछि देवराज इन्द्रको अनुरोधमा देव वैद्यको पद स्वीकार गरी स्वर्गमा बस्न थाले । यसर्थ आयुर्वेद अर्थात औषधि विज्ञानका प्रवर्तक धन्वन्तरिलाई आजकै दिनमा आरोग्यका देवताको रूपमा सम्झना गरी पूजा गर्ने गरिन्छ ।
आयुर्वेद शास्त्रका संस्थापकका रूपमा परिचित धन्वन्तरिलाई ‘वैद्यराज’ अर्थात् वैद्यहरूको राजा पनि भनिन्छ । यसै सन्दर्भमा आजका दिन आयुर्वेदका विद्यार्थी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विशेष कार्यक्रम आयोजना गरी भगवान् धन्वन्तरिको आराधना गर्ने गर्दछन् ।
धन्वन्तरिको पूजा वा आराधना निम्न मन्त्रद्वारा गर्नुपर्दछ:
ॐ नमो भगवते वासुदेवाय धन्वन्तरये
अमृतकलश हस्ताय सर्वामय विनाशनाय
त्रैलोक्यनाथाय श्रीमहाविष्णवे नमः
अर्थात ॐ नमो भगवते वासुदेवाय —
म भगवान् वासुदेव (विष्णु)लाई नमस्कार गर्छु ।
धन्वन्तरये —
जो भगवान् धन्वन्तरीका रूपमा प्रकट भएका छन्, तिनलाई नमस्कार ।
अमृतकलश हस्ताय —
जसका हातमा अमृत (अजर–अमर हुने शक्ति) भएको कलश छ ।
सर्वामय विनाशनाय —
जो सबै प्रकारका रोग, पीडा र व्याधिहरू नाश गर्ने शक्ति राख्छन् ।
त्रैलोक्यनाथाय —
जो तीन लोकका स्वामी हुन् — स्वर्ग, पृथ्वी र पातालका अधिपति ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij