Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

न्यायाधीश मुछिएको प्रकरण छानबिन गर्न नेपाल बारले बनायो समिति

न्यायाधीश मुछिएको प्रकरण छानबिन गर्न नेपाल बारले बनायो समिति

काठमाडौँ :  नेपाल बार एसोसिएसनले बिचौलिया इनम सापकोटासँग न्यायाधीश मुछिएको प्रकरणमा तथ्य सङ्कलन र न्याय क्षेत्रको सुधारका लागि सुझाव दिन समिति गठन गरेको छ।

बार एसोसिएसनको सोमबार बसेको केन्द्रीय कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले एक महिनाको समयसीमा तोकेर समिति गठन गर्ने निर्णय गरेको हो।
समितिको संयोजकमा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ छन्। सदस्यमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो तथा पूर्वकेन्द्रीय सदस्य चन्द्रप्रसाद काफ्ले छन्। सदस्य सचिवमा बारका केन्द्रीय कार्यसमिति सदस्य अधिवक्ता बाबुराम अर्याल छन्।

बारले न्यायिक सुधार, भ्रष्टाचारविहीन प्रणालीको विकास र सुशासनको प्रत्याभूति गर्नुपर्ने निर्णय गरेको छ। विगतमा तयार गरिएका सम्पूर्ण प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने पनि बारको माग छ।

त्यस्तै, भ्रष्टाचारजन्य कार्यको निष्पक्ष अनुसन्धान गरी वर्तमान तथा पूर्वपदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बारले जनाएको छ। दोषी देखिए तत्काल मुद्दा चलाउनुपर्ने उसको माग छ।

बैठकले सत्ताको कार्यकारी छाया न्यायपालिकामा पार्ने प्रयत्न भइरहेको महसुस गर्दै न्यायपालिकाको स्वतन्त्र अस्तित्व गम्भीर सङ्कटमा परेको निष्कर्ष निकालेको छ। न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि दृढतापूर्वक लाग्ने बारले जनाएको छ।

समितिले तयार पारेको प्रतिवेदन आगामी मङ्सिर २५ गते धनगढीमा हुने बारको ५२औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठकमा प्रस्तुत गरिनेछ। प्रतिवेदनमाथि छलफलपछि आगामी कार्ययोजना तय गर्ने निर्णय भएको बारका महासचिव केदारप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट