Logo

Oct 24 2026 | २०८३, कार्तिक ८गते

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

कास्की : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले आज एक महिना पूरा गरेको छ। फ्लाइ दुबईले गत असोज ७ गतेदेखि उक्त रुटमा नियमित उडान सुरु गरेको थियो।

एक महिनामा ३० वटा उडान सञ्चालन भएकामा दुबई–पोखरा चार हजार ५२१ र पोखरा–दुबई एक हजार ८४१ गरी छ हजार ३६२ जना यात्रुले सेवा लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक जगन्नाथ निरौलाले बताए। उनका अनुसार सुरुआतको एक महिना अन्तर्राष्ट्रिय उडानलाई उत्साहजनक रुपमा लिइएको छ।

“नेपालीहरुको ठूला चाड दशैँ र तिहारका कारणले दुबईबाट आउने यात्रुहरुको संख्या वृद्धि भइरहेको छ भने यहाँबाट जानेहरु समेत बढिरहेका छन्। सबैको साथ र प्रयासबाट पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र दीर्घकालिन हुने विश्वास गर्न सकिन्छ। यसमा सरकारी तथा निजी क्षेत्रले मिलेर प्रवद्धनात्मक काम गर्नुपर्छ”, महाप्रवन्धक निरौलाले भने।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित उडानको पहिलो महिनाको उपलब्धिलाई उत्साहजनक बताउँदै पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिएका छन्। 

उनले पोखरा–दुबई उडानलाई निरन्तरता दिन सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरिएकोमा फ्लाई दुबईको व्यवस्थापन टोलीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

“दुबईबाट पोखरा आउने यात्रुको संख्या राम्रो रहे पनि पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउन सके उडानलाई थप प्रभावकारी र दिगो बनाउन सकिन्छ । पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी तथा निजी क्षेत्रलाई सम्भव भएसम्म पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न हामीले आग्रह गरेका छौँ”, प्रमुख आचार्यले भने।

व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमणका कार्यक्रम पोखराबाटै सुरु गर्न र अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाट भ्रमण प्याकेज सञ्चालन गर्न पनि उनले अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij