गत असोज ८ गतेदेखि लगातार भइरहेको अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने प्रमुख सडक खण्डहरूमा पहिरोको जोखिमले सवारी आवागमन प्रभावित भएको छ ।
महेन्द्र राजमार्ग, कान्ति लोकपथ, र पृथ्वी राजमार्गमा पहिरोको जोखिमले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
हेटौँडा–काठमाडौँ आवतजावत गर्ने यात्रुहरूका लागि त्रिभुवन राजपथ अहिले सुरक्षित र सञ्चालनमा रहेको छ ।
मकवानपुर । गत असोज ८ गतेदेखि लगातार भइरहेको अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने प्रमुख सडक खण्डहरूमा प्रभावित भएका छन् । हेटौँडा काठमाडौँ जोड्ने अधिकांश सडकहरूमा पहिरोको जोखिमका कारण सवारी आवागमन प्रभावित भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा काठमाडौँ जोड्ने छोटो तथा लामो सडक खण्डहरु पहिरोको जोखिमले सवारी आवागमन प्रभावित भएका हुन् । महेन्द्र राजमार्ग, कान्ति लोकपथमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए । उनका अनुसार महेन्द्र राजमार्ग तथा पृथ्वी राजमार्गमा चितवन प्रशासनले अनिश्चितकाका लागि यात्रा गर्न रोक लगाएको छ भने कान्ति लोकपथमा ललितपुर प्रशासनले शनिबारसम्मका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ ।
हेटौँडा–काठमाडौँ मार्गसँग जोडिने पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै र ज्यामिरे क्षेत्रमा पनि पहिरो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र धादिङले संयुक्त सूचना जारी गर्दै अर्को सूचना नभएजेलसम्मका लागि पृथ्वी राजमार्गमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएका छन् ।
कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८, बगुवा खोला नजिकैको खहरे खोल्सामा सडकमाथिबाट ढुंगा, बालुवा र लेदोसहितको पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको उनले बताए । सो सडकको मकवानपुर खण्डको महादेवटारमा फास्ट ट्र्याकबाट आएको लेदोका कारण पनि बाटो बन्द भएको छ ।
सोही सडक खण्डको ललितपुरतर्फ पनि माल्टा दोबाटो र पोस्टको बीचमा तथा बागमती गाउँपालिका–३ को पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खस्दा सडक पूर्ण अवरुद्ध भएको छ । उक्त अवस्थाका कारण जिल्ला प्रशासन कार्यालय, ललितपुरले उक्त सडक खण्डमा सबै प्रकारका सवारी साधन चलाउन रोक लगाएको छ ।
त्यस बाहेक हेटौँडा काठमाडौँ जोड्ने अन्य सडकमा माथिबाट पहिरो खस्नुका साथै लेदो थुप्रिएपछि हेटौँडा–काठमाडौँ आवतजावत प्रभावित भएको हो ।
हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भीमफेदी कुलेखानी सिस्नेरी सडक खण्डको दक्षिणकाली–८ सल्ले डाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भीमफेदी कुलेखानी सिस्नेरी हुँदै दक्षिणकाली जाने सवारी साधनहरूलाई वैकल्पिक मार्गको रुपमा कुलेखानी हुमाने हुँदै काठमाडौँ जाने व्यवस्था मिलाइएको छ ।
यता त्रिभुवन राजपथमा भने हालसम्म पहिरो नखसेको र बाटो सफा तथा सुचारु अवस्थामा रहेको छ । हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने यात्रुहरूका लागि त्रिभुवन राजपथ अहिले सुरक्षित र सञ्चालनमा रहेको छ ।
प्रशासनले अविरल वर्षा अझै भइरहेको र पहिरोको जोखिम उच्च रहेकोले अति आवश्यक काम बाहेक यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्दा पनि विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij