काठमाडौंः काठमाडौँ उपत्यकाको मौलिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित कुमारी इन्द्रजात्रा आज परम्परागत विधिअनुसार विविध अनुष्ठानसहित मनाइँदै छ। हिन्दु तथा बौद्ध परम्परा, जीवित देवी कुमारीको आराधना, इन्द्रध्वज स्थापना, रथयात्रा, विभिन्न देवीदेवताका परम्परागत नृत्य र स्थानीय नेवार संस्कृतिको गहिरो समन्वय यस पर्वको मुख्य विशेषता हो।
मूलतः वर्षा, सहकाल र समृद्धिसँग जोडिएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो। देवी तलेजुको प्रतिनिधिका रूपमा मानिने जीवित देवी कुमारीको रथलाई इन्द्रजात्राका अवसरमा काठमाडौँका पुराना बस्तीहरू हुँदै नगर परिक्रमा गराइन्छ। यस रथयात्रालाई देवीको नगर परिक्रमा र सर्वसाधारण भक्तजनका लागि प्रत्यक्ष दर्शन तथा पूजाआजाको अवसरका रूपमा लिइन्छ। यसले काठमाडौँको धार्मिक जीवनमा देवी आराधना, शक्ति उपासना र सामुदायिक सहभागितालाई एउटै सूत्रमा बाँध्ने काम गरेको छ।
वैदिक परम्परामा वर्षा, मेघ, युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दु तथा बौद्ध दुवै धार्मिक शास्त्रहरूमा उल्लेख गरिएको छ। इन्द्रजात्राको प्रमुख प्रतीकका रूपमा भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ।
पौराणिक मान्यताअनुसार देवता र असुरबीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान् विष्णुसँग सहायता मागेका थिए। त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीक स्वरूप ध्वजा प्रदान गरेको र देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ। त्यसयता इन्द्रध्वज पूजालाई समृद्धि, शत्रुबाट सुरक्षा र विजयसँग सम्बन्धित अनुष्ठानका रूपमा मानिँदै आइएको छ।
यससम्बन्धी प्रसङ्ग महाभारत, वाल्मीकि रामायण, कालिका पुराण, देवी पुराण, विष्णु पुराण तथा विष्णुधर्मोत्तर पुराणमा समेत उल्लेख छ। भविष्योत्तर पुराण तथा वराहमिहिरको ‘बृहत्संहिता’मा पनि इन्द्रध्वज सम्बन्धी विधि र ज्योतिषीय पक्षको विस्तृत चर्चा गरिएको पाइन्छ।
इन्द्रजात्राको अर्को महत्त्वपूर्ण विशेषता यसको बहुधार्मिक स्वरूप हो। परम्परागत विधि अनुसार बौद्ध शाक्य समुदायबाट छनोट गरिने बालिकालाई कुमारीका रूपमा प्रतिष्ठित गरिए पनि उनलाई हिन्दूहरूले शक्ति स्वरूप देवीका रूपमा श्रद्धापूर्वक पूजा गर्दछन्।
यस पर्वका अवसरमा इन्द्र, भैरव, गणेश, कुमारी तथा विष्णुका विभिन्न रूप र अन्य देवीदेवता सम्बन्धी पूजाआजा एवं सांस्कृतिक प्रस्तुतिहरू एउटै मञ्चमा देख्न पाइन्छ। इन्द्रध्वजले पुरानो शास्त्रीय इन्द्रपूजा र विजय–समृद्धिको प्रतिनिधित्व गर्ने तथा कुमारी रथयात्राले जीवित देवीप्रतिको आस्थालाई जीवन्त बनाउने भएकाले इन्द्रजात्रालाई ऐतिहासिक स्मृति, पुराणीय परम्परा, संस्कृति र सामाजिक एकताको संयुक्त पर्वका रूपमा लिइन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij