Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

प्राविधिक समस्या समाधानपछि स्पेसएक्सको अन्तरिक्ष मिसनको नयाँ मिति तय

प्राविधिक समस्या समाधानपछि स्पेसएक्सको अन्तरिक्ष मिसनको नयाँ मिति तय

चार जना अन्तरिक्ष यात्री बोकेर आईएसएसतर्फ उडान भर्न लागेको ‘क्रू-१३’ मिसन अब आगामी अक्टोबर १ मा प्रक्षेपण हुने नासाले घोषणा गरेको हो।
नोदन प्रणालीमा अक्सिडाइजर चुहावट भेटिएपछि प्राविधिक समस्याका कारण यसअघि सेप्टेम्बर १२ का लागि तय गरिएको प्रक्षेपण स्थगित भएको थियो।
यस मिसनमार्फत नासाका जेसिका वाटकिन्स र लुक डेलानी, क्यानेडियन स्पेस एजेन्सीका जोस कुट्रिक तथा रुसी अन्तरिक्ष एजेन्सी रोसकोसमसका सर्गेई तेतेरियातनिकोभ आईएसएसमा पुग्नेछन्।
न्युयोर्क ।  अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) र स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) का लागि गर्ने आगामी अन्तरिक्ष यात्री मिसनको नयाँ प्रक्षेपण मिति सार्वजनिक गरेका छन्। 
चार जना अन्तरिक्ष यात्री बोकेर आईएसएसतर्फ उडान भर्न लागेको ‘क्रू-१३’ मिसन अब आगामी अक्टोबर १ मा प्रक्षेपण हुने नासाले घोषणा गरेको हो।यसअघि अगस्ट २९ मा क्रू-१३ मिसनको ‘ड्रागन’ अन्तरिक्षयानको नोदन प्रणाली (प्रपल्सन सिस्टम) मा अक्सिडाइजर चुहावट भेटिएको नासाले जनाएको थियो। उक्त प्राविधिक समस्याका कारण सेप्टेम्बर १२ का लागि तय गरिएको प्रक्षेपण स्थगित भएको थियो। प्राविधिक जाँच र मर्मतपछि एजेन्सीले नयाँ मिति तय गरेको हो।
नयाँ कार्यतालिकाअनुसार अक्टोबर १ मा फ्लोरिडास्थित केप कानाभराल स्पेस फोर्स स्टेसनबाट पूर्वी अमेरिकी समयअनुसार बिहान ११:१० बजे फाल्कन-९ रकेटमार्फत क्रू-१३ ले उडान भर्नेछ। प्रक्षेपण भएको करिब नौ घण्टिपछि सोही दिन राति ८ बजे अन्तरिक्षयान आईएसएसमा पुगी जोडिनेछ।
यस मिसनमार्फत चार जना अन्तरिक्ष यात्री कक्षीय प्रयोगशाला आईएसएसमा पुग्ने छन्। जसमा नासाका जेसिका वाटकिन्स र लुक डेलानी, क्यानेडियन स्पेस एजेन्सीका जोस कुट्रिक तथा रुसी अन्तरिक्ष एजेन्सी रोसकोसमसका सर्गेई तेतेरियातनिकोभ रहेका छन्। यो टोलीले आईएसएसमा करिब सात महिना बिताउने छ, जहाँ उनीहरूले विभिन्न वैज्ञानिक प्रयोगका साथै स्टेशनको मर्मत सम्भारको काम गर्ने छन्।

क्रू-१३ ले गत फेब्रुअरीको मध्यदेखि आईएसएसमा बसोबास गर्दै आएका ‘क्रू-१२’ मिसनका चार अन्तरिक्ष यात्रीलाई विस्थापित गर्नेछ। दुवै मिसनका अन्तरिक्ष यात्रीहरूले केही दिन आईएसएसमा सँगै काम गर्नेछन्। त्यसपछि नासाका जेसिका मेइर र ज्याक ह्याथवे, युरोपेली अन्तरिक्ष एजेन्सीकी सोफी एडेनट र रुसी अन्तरिक्ष यात्री एन्ड्रे फेद्याएभ सम्मिलित क्रू-१२ को टोली पृथ्वीमा फर्किनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट