Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

मस्तिष्कको गतिविधिबारे अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार

मस्तिष्कको गतिविधिबारे अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार

काठमाडौँ  : मस्तिष्कले व्यक्तिगत स्नायु कोषहरूको गतिविधि कसरी सक्रिय वा निष्क्रिय पार्छ भन्ने संयन्त्रमा काम गर्ने तीन वैज्ञानिकलाई यस बर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको छ।

अप्टोजेनेटिक्स अर्थात् मस्तिष्कको गतिविधिबारे अनुसन्धान गर्दै आउनुभएका ५४ बर्षीय अमेरिकी वैज्ञानिक कार्ल डाइसरोथ र जर्मनीका ७१ बर्षीय पिटर हेगेमान र ७३ बर्षीय जर्ज नागेललाई यो पुरस्कार प्रदान गर्ने घोषणा सोमबार गरिएको हो। 

उहाँहरूको प्रकाश–नियन्त्रित ‘आयन च्यानल’ र अप्टोजेनेटिक्सबारे अनुसन्धानका लागि यो पुरस्कार दिने निर्णय नोबेल पुरस्कार छनौट समितिले गरेको हो। 

समितिले उहाँहरूको कामको प्रशंसा गर्दै एक्समा लेखेको छ, “यो विधि ‘अहिले विश्वभरका प्रयोगशालाहरूमा मस्तिष्कका रहस्यहरू उजागर गर्न’ प्रयोग भइरहेको छ।”

समितिका अनुसार डाइसरोथ क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ भने हेगेमान बर्लिनको हम्बोल्ट विश्वविद्यालय र नागेल जर्मनीकै वुर्जबर्ग विश्वविद्यालयमा हुनुहुन्छ।

चिकित्सा पुरस्कार छनौट समितिका सचिव थोमस पर्लम्यानले भन्नुभयो, “सोमबार तीनै जना विजेतासँग फोनमा सम्पर्क गरिएको र उहाँहरूलाई पुरस्कारबाट सम्मानित गर्ने जानकारी दिइएको थियो।” 

नोबेल पुरस्कार छनौट समितिका अनुसार ‘अप्टोजेनेटिक्स’ले स्नायु विज्ञानमा नयाँ युग सुरु गरेको छ। यसले मस्तिष्कमा स्नायु कोष र सर्किटहरूलाई सक्रिय वा निष्क्रिय पार्न प्रकाशद्वारा नियन्त्रित स्विच पत्ता लगाएको छ, जसले मस्तिष्क कसरी काम गर्छ भन्ने कुरा बुझ्नका लागि व्यवहार र रोगसम्म पुग्ने मार्गहरू अन्वेषण गर्न मद्दत गर्छ।

यो सुरु भयो जब हेगेमानले एकल–कोषीय हरियो शैवाल कसरी प्रकाशतिर पौडी खेल्न सक्छ भन्ने अन्वेषण गर्नुभयो। उहाँले र नागेलले एउटा विशेष प्रोटिन (कोष) पत्ता लगाए जुन नीलो प्रकाशले उज्यालो पार्दा च्यानल खुल्छ र विद्युतीय आवेग सिर्जना गर्छ। त्यो प्रोटिन अन्य कोषहरूमा राख्दा तिनीहरू प्रकाशसँग संवेदनशील बन्छन्।

त्यसपछि डाइसरोथले त्यो प्रोटिन नियन्त्रण गर्ने जीनसँग काम गरेर जीवित मुसाको मस्तिष्कमा स्नायु कोषहरूका लागि प्रकाश–नियन्त्रित स्विच सिर्जना गर्नुभएको थियो। 

चिकित्सा पुरस्कारको घोषणासँगै नोबेल सप्ताह सुरु हुने गर्छ।

यो पुरस्कार स्टकहोमको कारोलिन्स्का इन्स्टिच्युटमा घोषणा गरिएको हो, जसले नोबेल सप्ताहको सुरुवात गरेको छ।

यो वर्षको पुरस्कार राशी  एक करोड २० लाख स्वीडिश क्रोना (करिब १२ लाख अमेरिकी डलर) छ।

गत वर्ष यो पुरस्कार प्रतिरक्षा प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई दिइएको थियो।

सोमबारको चिकित्सा पुरस्कारपछि आज मंगलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यतर्फको पुरस्कारको घोषणा गरिनेछ।

शुक्रबार शान्ति पुरस्कार प्रदान भएपछि अक्टोबर १२ मा नोबेल स्मृति आर्थिक विज्ञान पुरस्कार घोषणा गरिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij