Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

‘ध्रुवे’ले तेस्रो पटक पनि चुडायो रेडियो कलर, निगरानीमा चुनौती

‘ध्रुवे’ले तेस्रो पटक पनि चुडायो रेडियो कलर, निगरानीमा चुनौती

चितवन : चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हालसम्म २५ जनाको ज्यान लिइसकेको हिंस्रक जंगली भाले हात्ती ‘ध्रुवे’ले घाँटीमा जडान गरिएको स्याटलाइट रेडियो कलर तेस्रो पटक पनि चुडाएर फालेको छ। कलर चुडिएपछि ध्रुवेको गतिविधि निगरानी गर्न निकुञ्जलाई थप चुनौती भएको छ।

गत असार ३१ गते चितवन राष्ट्रिय निकुञ्जको सुखीभार पोस्टबाट करिब दुई सय मिटर पूर्व डार्ट गरी ध्रुवेको घाँटीमा रेडियो कलर जडान गरिएको थियो। सोही क्रममा उसको ६ इन्च लामो दाह्रा समेत काटिएको थियो।

ध्रुवेको घाँटीमा रेडियो कलर जडान गरिएको यो तेस्रो पटक हो। यसअघि जडान गरिएका दुईवटा रेडियो कलर पनि ध्रुवेले चुडाएर फालेको थियो। पछिल्लो पटक जडान गरिएको कलर पनि उसले चुडाएपछि उसको गतिविधि नियमित रूपमा निगरानी गर्न निकुञ्जलाई कठिन भएको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रेडियो कलर चुडाएर फाल्नुअघि ध्रुवे निकुञ्जको तमोर ताल आसपासमा देखिएको थियो। कलरमार्फत उसको गतिविधि निगरानी भइरहेको अवस्थामा पछिल्लो पटक तमोर ताल क्षेत्रमा देखिएको ध्रुवेले घाँटीको कलर चुडाएर फालेको उनले पुष्टि गरे।

गत असार २० गते राति भरतपुर महानगरपालिका–२३ बेलहठ्ठामा घरमा सुतिरहेका २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेलाई ध्रुवेले आक्रमण गरी ज्यान लिएको थियो। त्यसपछि निकुञ्जले ध्रुवेलाई डार्ट गरी रेडियो कलर जडान गरेको थियो।

प्रायः निकुञ्जको सुखीभार क्षेत्रमा रहने ध्रुवे असारमा अचानक बस्ती क्षेत्रमा प्रवेश गरेको थियो। आमा–छोरामाथि आक्रमण गरेको घटनाको भोलिपल्टसमेत ध्रुवे मेघौली क्षेत्रमा देखिएको थियो।

ध्रुवेको आक्रमणबाट हालसम्म २५ जनाको मृत्यु भइसकेको छ। २०७४ सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरी मारेपछि झन्डै नौ वर्षसम्म मानवीय क्षति नभएको ध्रुवेले गत असारमा पुनः बस्ती प्रवेश गरी दुई जनाको ज्यान लिएपछि उसको निगरानी र नियन्त्रणको विषय फेरि चुनौती बनेको हो।

चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै मानवीय क्षति पुर्‍याउने हात्तीका रूपमा चिनिएको ध्रुवेले वि.सं. २०६६ साल माघदेखि मानिसमाथि आक्रमण गर्न थालेको थियो। २०६९ सालसम्म करिब तीन वर्षको अवधिमा उसले १५ जनाको ज्यान लिएको थियो। त्यतिबेला माडी क्षेत्रमा ध्रुवेको आतंक अत्यधिक थियो।

विशेषगरी २०६९ साल कात्तिकमा एक महिनाको अवधिमा माडी क्षेत्रमा मात्रै चार जनाको लगातार ज्यान लिएपछि ध्रुवेलाई मार्ने निर्णय गरिएको थियो। २०६८/०६९ सालतिर दैनिकजसो मानिसमाथि आक्रमण गर्न थालेपछि २०६९ साल पुस १ गते चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहितको बैठकले ध्रुवेलाई मार्ने आदेश दिएको थियो।

तर, त्यसयता लामो समयसम्म निकुञ्जभित्र सीमित रहेको ध्रुवे पुनः बस्ती क्षेत्रमा प्रवेश गरी दुई जनाको ज्यान लिएपछि उसको गतिविधि निगरानी, नियन्त्रण तथा मानव–हात्ती द्वन्द्व न्यूनीकरण चुनौतीपूर्ण बनेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट