काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शम्भुप्रसाद ढकालले जेनजी आन्दोलनका घाइते, शहीद परिवार तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका आश्रित परिवारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ढकालले राज्यले गरेका प्रतिबद्धता कार्यान्वयन नगर्नु र परिवर्तनका लागि सडकमा उत्रिएका घाइते तथा शहीद परिवारलाई बेवास्ता गर्नु गम्भीर विषय भएको बताए ।
उनले २०८२ मंसिर २४ गते जेनजी आन्दोलनकारीसँग भएको सम्झौता अझै कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । घाइते तथा शहीद परिवारले २३ बुँदे माग राखेर संघर्ष गरिरहेको उल्लेख गर्दै उनले राज्यले तत्काल सम्बोधन गर्न सक्ने विषयमा समेत ढिलाइ गर्न नहुने बताए ।
सभामुखमार्फत सरकारलाई प्रश्न गर्दै ढकालले भने- ‘खोलो तरेपछि लौरो बिर्सने हो ? परिवर्तनका लागि लडेका घाइतेहरू शरीरमा गोलीका छर्रा बोकेर देश–विदेशमा मजदुरी गर्न बाध्य छन्, यो राज्यका लागि लज्जाको विषय हो ।’
उनले स्वास्थ्य मन्त्रालयसँग हालै भएको पाँचबुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन गर्नसमेत सरकारसँग माग गरे ।
कर्तव्य पालनाका क्रममा ज्यान गुमाउने सुरक्षाकर्मीका आश्रित परिवारलाई दिइँदै आएको १० लाख रुपैयाँ राहतसमेत पर्याप्त नभएको भन्दै ढकालले राहत तथा पुनर्स्थापनाको व्यवस्था थप प्रभावकारी बनाउनुपर्ने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij