Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

चितवन उघोग संघ रत्ननगर समिति साधारणसभा, ´उद्योगीको एउटै आवाज : ‘नीति धेरै भयो, अब चल्ने वातावरण चाहियो’

चितवन उघोग संघ रत्ननगर समिति साधारणसभा, ´उद्योगीको एउटै आवाज : ‘नीति धेरै भयो, अब चल्ने वातावरण चाहियो’

चितवन : चितवन उद्योग संघ, रत्ननगर समितिको आठौँ वार्षिक साधारणसभा उद्योग क्षेत्रका समस्या, चुनौती र समाधानका उपायबारे छलफल गर्दै सम्पन्न भएको छ। साधारणसभामा सहभागी उद्योगीहरूले उद्योग सञ्चालनका लागि नीतिभन्दा पनि व्यवहारिक सहजीकरण र लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका छन्।

रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले साधारणसभाको उद्घाटन गर्दै उद्योग क्षेत्र देशको आर्थिक विकास र समृद्धिको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले उद्योगीले रोजगारी सिर्जना, उत्पादन वृद्धि र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो।

चुनौतीका बीच पनि उद्योगीको मेहनत, लगनशीलता र नवीन सोचले अर्थतन्त्रमा योगदान पुर्‍याइरहेको भन्दै पाठकले उद्योग क्षेत्रलाई प्रोत्साहन गर्न राज्य, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

साधारणसभामा उद्योगीहरूले भने उद्योग सञ्चालनका क्रममा भोगिरहेका समस्या समाधानमा राज्यको नीति र व्यवहारिक कार्यान्वयनबीच अझै ठूलो खाडल रहेको गुनासो गरे। उद्योग दर्ता तथा नवीकरण, कर प्रणाली, बैंकको ब्याजदर, विद्युत्, पूर्वाधार, बजारको अनिश्चितता, कच्चा पदार्थको मूल्यवृद्धि तथा दक्ष जनशक्तिको अभावलाई उनीहरूले प्रमुख समस्याका रूपमा उठाए।

उद्योगीहरूले प्रशासनिक प्रक्रिया सरल र छिटो बनाउन, उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्न तथा उद्योगीका समस्या नियमित रूपमा सुन्ने प्रभावकारी संयन्त्र निर्माण गर्न माग गरेका छन्। स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन र उद्योगबीच सहकार्य तथा निजी क्षेत्रको लगानी सुरक्षित हुने वातावरण निर्माण गर्नुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए।

चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले उद्योगीका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद आवश्यक रहेको बताउनुभयो। उहाँले उद्योग क्षेत्रका वास्तविक समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

गभर्निङ काउन्सिलका उपाध्यक्ष राजु पौडेलले उद्योग विकासका लागि सरकारी निकायबाट आवश्यक सहजीकरण र समन्वय हुनुपर्ने बताउनुभयो। उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय चितवनका कार्यालय प्रमुख विनोद पौडेलले उद्योगीले भोगिरहेका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

माडी समितिका अध्यक्ष जिताराम महतोले स्थानीय तहमा उद्योग प्रवर्द्धनसँगै निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने धारणा राख्नुभयो।

चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष सुवासचन्द्र गौतमले स्वागत मन्तव्यसहित समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले उद्योग क्षेत्रलाई स्थानीय अर्थतन्त्रको बलियो आधारका रूपमा विकास गर्न सहकार्य आवश्यक रहेको बताउनुभयो। समितिकी कोषाध्यक्ष गीता सिम्खडाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

साधारणसभाका अवसरमा समितिका गतिविधिमा सहयोग गर्ने रत्ननगर नगरपालिका, पर्यटन कार्यालय सौराहा, पोखरा थकाली भान्सा घर एण्ड होटल साथी, सक्रिय मत्स्य कृषक समूह तथा चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समिति, रत्ननगरलगायतका संस्थालाई सम्मान गरिएको थियो।

त्यसैगरी समितिका कार्यक्रम सफल बनाउन संयोजन तथा व्यवस्थापनमा योगदान पुर्‍याएको भन्दै उपाध्यक्ष माधव थपलिया, सचिव शालिकराम बास्तोला, कोषाध्यक्ष गीता सिम्खडा, कार्यसमिति सदस्य गोकर्ण गिरी, महिला उद्यमी मञ्च रत्ननगरकी अध्यक्ष बिन्दु शर्मा तथा सदस्यहरू निर्मला पाण्डे र जमुना ओझालाई सम्मान गरिएको थियो। चालु आर्थिक वर्षमा नयाँ सदस्यता लिएका सदस्यलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो।

साधारणसभाकै अवसरमा कार्यसम्पादन मूल्याङ्कनका आधारमा उपाध्यक्ष माधव थपलियालाई समितिको वरिष्ठ उपाध्यक्षमा मनोनयन गरिएको छ।

समितिका सचिव शालिकराम बास्तोलाले सञ्चालन गर्नुभएको कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्ष माधव थपलियाले धन्यवाद मन्तव्यसहित गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट