चितवन : राप्ती नगरपालिकाभित्र सञ्चालित निजी तथा संस्थागत विद्यालयले ३० देखि ४० प्रतिशतसम्म शुल्क वृद्धि गरेको विषयमा राप्तीका युवाहरूले विरोध जनाएका छन्। ‘जिम्मेवार युवाहरू’को नाममा संगठित युवाहरूले बुधबार राप्ती नगरपालिकाका मेयर शम्शेर लामालाई ध्यानाकर्षणपत्र बुझाउँदै शुल्क वृद्धि तत्काल फिर्ता गर्न माग गरेका हुन्।
युवाहरूले शुल्क वृद्धि गर्नुअघि विद्यालयको शैक्षिक गुणस्तर, सञ्चालन लागत, शिक्षक तथा कर्मचारीको अवस्था, पूर्वाधार, विद्यार्थीको सिकाइ उपलब्धि र अभिभावकमाथि पर्ने आर्थिक भारबारे वस्तुनिष्ठ अध्ययन गरिएको भए त्यसको आधार र प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
उनीहरूले ३०–४० प्रतिशतसम्म शुल्क वृद्धि गर्ने निर्णय कुन कानुन, नियम, मापदण्ड वा अध्ययनका आधारमा गरिएको हो भन्ने प्रश्नसमेत उठाएका छन्। शुल्क वृद्धिसम्बन्धी निर्णय, माइन्युट तथा विद्यालयगत शुल्क विवरण सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ।
त्यस्तै, शुल्क निर्धारण गर्दा अभिभावक तथा विद्यार्थीमाथि पर्ने आर्थिक भारलाई ध्यान दिनुपर्ने, विद्यालयको शैक्षिक गुणस्तर मापनका स्पष्ट र पारदर्शी आधार सार्वजनिक गर्नुपर्ने तथा अभिभावक, विद्यार्थी र सरोकारवालासँग छलफल गरेर शुल्क निर्धारण गर्नुपर्ने उनीहरूको माग छ।
युवाहरूले माग सम्बोधनका लागि ७ दिनको समयसीमा दिएका छन्। उक्त अवधिभित्र शुल्क वृद्धि फिर्ता गरी कानुनसम्मत र पारदर्शी निर्णय नगरिए अभिभावक, विद्यार्थी तथा सरोकारवालासँग समन्वय गरी शान्तिपूर्ण तथा लोकतान्त्रिक दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनी उनीहरूले दिएका छन्।
युवाहरूले आफ्नो अभियान कुनै व्यक्ति वा विद्यालयविरुद्ध लक्षित नभई अभिभावकको आर्थिक भार, विद्यार्थीको अधिकार, पारदर्शिता र स्थानीय सरकारको जवाफदेहितासँग जोडिएको सार्वजनिक सरोकारको विषय भएको बताएका छन्।
उनीहरूले “शिक्षामा गुणस्तर चाहिन्छ, गुणस्तरको नाममा मनोमानी शुल्क वृद्धि होइन” भन्ने धारणा अघि सारेका छन्।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij