चितवन : भरतपुर महानगरपालिका–१२ मा ज्येष्ठ नागरिक संघ वडा कार्यसमितिको कार्यालय स्थापना गरिएको छ । शनिबार धनगढा परिसरमा आयोजित कार्यक्रममा वडा कार्यसमिति अध्यक्ष सन्तोष पन्तको अध्यक्षता तथा भरतपुर–१२ का वडाध्यक्ष लेखराज पन्त ‘हरि’को प्रमुख आतिथ्यमा कार्यालयको शुभारम्भ गरिएको हो ।
कार्यालय स्थापना कार्यक्रममा बोल्दै वडाध्यक्ष पन्तले छोटो समयमै कार्यालय स्थापना गर्नुका साथै ज्येष्ठ नागरिकका लागि विभिन्न स्थानमा १६ थान सिमेन्टेड बेञ्च वितरण, मठमन्दिरमा सचेतनामूलक कार्यक्रम सञ्चालन तथा वडा कार्यालयमा विभिन्न योजना प्रस्तुत गरेको भन्दै संघको प्रशंसा गर्नुभयो ।
उहाँले ज्येष्ठ नागरिक लक्षित समयसापेक्ष कार्यक्रम सञ्चालनका लागि वडा कार्यालय तथा व्यक्तिगत रूपमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक संघ चितवनका अध्यक्ष माधव शर्मा घिमिरेले ज्येष्ठ नागरिकले भोग्दै आएका समस्या, त्यसका कारण तथा समाधानका लागि संघले गर्दै आएका गतिविधिबारे जानकारी गराउनुभयो । उहाँले छोटो समयमै महत्वपूर्ण गतिविधि सञ्चालन गरेकोमा भरतपुर–१२ को वडा कार्यसमितिलाई धन्यवाद दिनुभयो ।
ज्येष्ठ नागरिक संघ भरतपुर–११ का अध्यक्ष खेमराज पोखरेलले पनि संघका गतिविधिबारे चर्चा गर्दै भरतपुर–११ र १२ ले सहकार्य गरेर ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्न तयार रहेको बताउनुभयो । कार्यक्रमका क्रममा कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता भुपेन्द्रजंग पौडेल, मनोसामाजिक सल्लाहकार डा. सिपी सेढाई, शिक्षा तथा अनुभव हस्तान्तरण सल्लाहकार भैरवराज रेग्मी र धार्मिक तथा सांस्कृतिक सल्लाहकार पण्डित तोयानाथ अधिकारीलाई सल्लाहकारको जिम्मेवारीपत्र हस्तान्तरण गरिएको थियो ।
मनोसामाजिक सल्लाहकार डा. सेढाईले उमेर बढ्दै जाँदा देखिन सक्ने मानसिक स्वास्थ्यसम्बन्धी समस्याका सम्भावना र समाधानका उपायबारे जानकारी दिनुभयो । पण्डित अधिकारीले ज्येष्ठ नागरिकले शान्तिपूर्ण जीवनयापनका लागि निर्वाह गर्नुपर्ने भूमिका र एकताबद्ध हुनुपर्ने आवश्यकताबारे धारणा राख्नुभयो ।
कार्यक्रममा टोल विकास संस्था तथा आमा समूहका प्रतिनिधिहरूले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र समस्या समाधानका लागि संघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । संघका सचिव एवनिधि तिवारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष ऋषिराम भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले वडा क्षेत्रका ज्येष्ठ नागरिकलाई एकजुट गर्ने अभियानमा संघ सक्रिय रहेको बताउँदै सबैको सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा ज्येष्ठ नागरिक संघ भरतपुर–१२ का अध्यक्ष सन्तोष पन्तले ज्येष्ठ नागरिक संघको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो । उहाँले टोल तथा विद्यालयसम्म पुगेर ज्येष्ठ नागरिकलाई सुरक्षित, सम्मानित र आत्मसम्मानपूर्ण जीवनयापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij