Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियामा २ लाख ७० हजार यात्रु अलपत्र

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियामा २ लाख ७० हजार यात्रु अलपत्र

जर्कार्ता : इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि करिब २ लाख ७० हजार यात्रु अलपत्र परेका छन् । ज्वालामुखीबाट निस्किएको खरानीका कारण २ हजारभन्दा बढी उडान प्रभावित भएका छन् भने राजधानी जकार्तासहितका विमानस्थलले लगातार दोस्रो दिन पनि सञ्चालन स्थगित गरेका छन् ।

जकार्ताबाट करिब १५० किलोमिटर टाढा रहेको अनाक क्राकाटाउ ज्वालामुखी शुक्रबार रातिदेखि विस्फोट हुन थालेको हो । विस्फोटका क्रममा ज्वालामुखीबाट लाभाका फोहोरा निस्कनुका साथै ठुलो मात्रामा ज्वालामुखीको खरानी आकाशमा उडेको थियो । खरानी जकार्ता र लाम्पुङ प्रान्तसम्म पुगेको बताइएको छ । सप्ताहान्तभर ज्वालामुखीको भूकम्पीय गतिविधि पनि जारी रहेको थियो ।

ज्वालामुखीको खरानी विमान उड्ने हवाई क्षेत्रमा समेत देखिएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलसहित चार वटा विमानस्थलले सोमबार स्थानीय समयअनुसार साँझ ६ बजेसम्म सञ्चालन बन्द गर्ने अवधि थप गरेका छन् ।

विमानस्थल बन्द भएपछि हजारौँ यात्रु उडानको प्रतीक्षामा अलपत्र परेका छन् । सोमबार जकार्ताको सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा टिकट फिर्ता लिन तथा उडान कहिले सञ्चालन हुन्छ भन्ने जानकारी लिन यात्रुको लामो लाइन लागेको थियो ।

पूर्वी जाभाको मलाङ सहरबाट आइतबार बिहान जकार्ता फर्किने तयारीमा रहेकी ४६ वर्षीया फिनाले विमानस्थलमा पटक–पटक उडानको समय परिवर्तन भएपछि निकै अन्योल सिर्जना भएको बताइन् । उनले बीबीसी इन्डोनेसियनसँग भनिन्– ‘बिहान उडानका यात्रुहरू पनि विमानस्थलमै रोकिएका थिए भने पछि उडान हुने भनिएका यात्रुलाई समेत आफ्नो उडानको अवस्था के हुने भन्ने थाहा थिएन ।’

त्यसका कारण विमानस्थलमा अत्यधिक भीड भएको उनको भनाइ थियो । ज्वालामुखी विस्फोटका कारण हवाई यातायातसँगै अन्य क्षेत्र पनि प्रभावित भएका छन् । प्रभावित क्षेत्रका विद्यालयहरूले कक्षा अनलाइनमार्फत सञ्चालन गर्न थालेका छन् भने केही जलयातायात तथा ढुवानी सेवा पनि प्रभावित भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट