Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

गजेन्द्रमोक्ष संस्कृत परिषदबाट एक लाख बढी सहयोग

गजेन्द्रमोक्ष संस्कृत परिषदबाट एक लाख बढी सहयोग

नवलपरासी : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नवलपरासीको त्रिवेणीधामस्थित श्री गजेन्द्रमोक्ष संस्कृत परिषद्ले एक लाख ५ हजार ५५५ रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

अनन्त श्री विभूषित कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को संरक्षकत्वमा रहेको परिषद्ले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।

परिषद्को यो पहलले धार्मिक तथा आध्यात्मिक संस्थाहरुले पूजा–अनुष्ठानसँगै विपद् व्यवस्थापन, मानवीय सेवा र सामाजिक उत्तरदायित्वमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएको छ ।

परिषद्ले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राज्यले अघि बढाएको अभियानप्रति संस्थागत ऐक्यबद्धता जनाउँदै सहयोग रकम प्रदान गरेको स्वामी वासुदेव प्रपन्नाचार्यले जानकारी दिए ।

‘यस दैविक प्रकोपको चपेटामा प्रभावित भएका नागरिकहरुको तत्काल उद्धार, राहत तथा पुनस्र्थापनामा राज्यलाई सहयोग गर्नु हामी सबै देशवासीको परम कर्तव्य हो’, परिषद्का अध्यक्ष सुदर्शन प्रपन्नाचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय सङ्कटको यो विषम परिस्थितिमा सरकारको आलोचना, टीकाटिप्पणीभन्दा माथि उठी राष्ट्रिय एकता, समन्वय, सहकार्यमार्फत मानवीय संवेदनाको रक्षा गरी सामाजिक उत्तरदायित्व पूरा गर्न परिषद्ले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट