Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सुनसरीमा मध्यरातमा झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, प्रहरीसहित १६ जना घाइते

सुनसरीमा मध्यरातमा झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, प्रहरीसहित १६ जना घाइते

सुनसरी  : सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ।घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन्। 

 जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काका अनुसार भिड नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।

गोली लागेर गम्भीर घाइते भएका मेहतालाई  उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको भए पनि आइतबार राति चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।

प्रहरीको  अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको थियो।

मध्यरातमा अनावश्यक होहल्ला  भएको भन्दै अर्को पक्षले सो कार्यको विरोध गरेपछि दुई समूहबीच भनाभन भई झडपको स्थिति बनेको थियो।

झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो।

त्यसपछि हवाई फायर गर्दा समेत अवस्था सामान्य हुन नसकेपछि प्रहरीले गोली चलाउनुपरेको दाबी गरेको छ।

उक्त घटनामा घाइते भएका ८ जना सर्वसाधारणको विराटनगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ, जसमध्ये अधिकांशलाई गोली लागेको छ।प्रहरी निरीक्षक राकेश राईसहित ८ जना प्रहरी घाइते भएका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij