काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा ३ वर्षे एलएलबी कार्यक्रमको नाममा गरिएको मनपरी तथा चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाएको छ। आज(मंगलबार)अनेरास्ववियू (क्रान्तिकारी)ले विज्ञप्ति जारी गर्दै उक्त शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ,‘सार्वजनिक शिक्षालाई योजनाबद्ध रूपमा व्यापारीकरण गर्ने, विद्यार्थीमाथि आर्थिक भार थोपर्ने तथा आम विद्यार्थीलाई शिक्षाको पहुँचबाट वञ्चित गर्ने यस विद्यार्थी विरोधी कदमप्रति हाम्रो संगठन घोर भर्त्सना गर्दछ। एउटै विश्वविद्यालय अन्तर्गत एउटै कार्यक्रमका लागि फरक(फरक र अस्वाभाविक शुल्क निर्धारण गरिनु शिक्षा क्षेत्रमा मौलाएको वेथिति मात्र होइन, यो विद्यार्थीमाथि थोपरिएको खुला आर्थिक शोषण र लुटको प्रतिनिधि उदाहरण हो।’
नेपाली जनता बेरोजगारी, महंगी र आर्थिक संकटको चपेटामा पिल्सिरहेका बेला सरकार आफ्नो संवैधानिक दायित्वबाट पन्छिदै शिक्षा क्षेत्रलाई बजार र नाफाको माध्यम बनाउने दिशामा उन्मुख देखिएको अनेरास्ववियू क्रान्तिकारीको भनाइ छ।
‘अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय समिति त्रिभुवन विश्वविद्यालय प्रशासन तथा सरकारलाई मनपरी शुल्क वृद्धि तत्काल फिर्ता लिन, शिक्षा क्षेत्रमाथिको व्यापारीकरण अन्त्य गर्न र विद्यार्थीमैत्री नीति लागू गर्न कडा चेतावनी दिन चाहन्छ,विद्यार्थीहरूको न्यायोचित आवाजलाई वेवास्ता गरिएमा देशव्यापी चरणबद्ध सशक्त संघर्षका कार्यक्रम अगाडि बढाइनेछन् र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार र सम्बन्धित निकायले नै वहन गर्नुपर्नेछ,’विज्ञप्तिमा उल्लेख छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij