चितवन : सैनिक आवासीय महाविद्यालय चितवनमा अध्ययनरत विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि तथा शैक्षिक सफलता हासिल गर्न प्रेरित गर्ने उद्देश्यले शुक्रबार एकदिने उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गर्ने, मानसिक तनाव कम गर्न सहयोग पुर्याउने तथा सही लक्ष्य निर्धारणमा प्रेरित गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको महाविद्यालयले जनाएको छ।

कार्यक्रमका सहजकर्ता भक्तराज रसाइलीले आत्मविश्वास नै शैक्षिक सफलताको सबैभन्दा महत्वपूर्ण आधार भएको उल्लेख गर्दै आफ्नै क्षमता र सम्भावनामाथि विश्वास गरेर निरन्तर प्रयास गरेमा जीवनमा शैक्षिक तथा व्यक्तिगत दुवै लक्ष्य हासिल गर्न सकिने बताउनुभयो। उहाँले विद्यार्थीलाई सकारात्मक सोच, अनुशासन र दृढ संकल्पका साथ अघि बढ्न पनि प्रेरित गर्नुभयो।

कार्यक्रमको समापन गर्दै महाविद्यालयका प्रिन्सिपल बाबुराम बन्जाडेले विद्यार्थीको चौतर्फी, सिर्जनात्मक तथा व्यक्तित्व विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले शैक्षिक उन्नयनसँगै विद्यार्थीको मानसिक र भावनात्मक विकासलाई पनि प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता उत्प्रेरणात्मक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो। महाविद्यालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै अध्ययनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij